जनताको आकर्षण राप्रपा नेपालतर्फ:कमल थापा

0
1108

 

 

धनुषा, : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जनताको आकर्षण आफ्नो पार्टीतर्फ रहेको बताउनुभएको छ ।

राप्रपाको प्रदेश २ स्तरीय प्रशिक्षण तथा सम्मेलन कार्यक्रमलाई आज जनकपुरमा सम्बोधन गर्दै अध्यक्ष थापाले ओली नेतृत्वको दुई तिहाइको सरकार गठन भएको नौ महीना बितिसक्दा पनि जनताको जीवनस्तरमा कुनै परिवर्तन आउन नसकेकाले जनतासँग राप्रपाको विकल्प नभएको दाबी गर्नुभयो ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष थापाले अहिले सामान्य जागिरका लागिसमेत दैनिकरुपमा दुई हजारभन्दा बढी युवा मलेसियाको जङ्गल र अरबको मरुभूमिमा गएर रगत पसिना बगाउन बाध्य भएको बताउँदै उहाँले भन्नुभयो, “सदियौँदेखिको दासताबाट मुक्ति पाउनका लागि भनेर लडेका नेकपा र सङ्घीय समाजवादी फोरम नेपालको दुई तिहाइ बहुमतको सरकार हुँदा पनि जनताले शान्ति, स्थायित्व, विकास र रोजगारी लगायतमा आश्वासनबाहेक केही पाउन सकेका छैनन् ।

उहाँले जनताको विकल्प आफूहरु भएको दाबी गर्दै जनता र कार्यकर्तालाई हिन्दूराष्ट्र पुनःस्थापना र राजसंस्थासहितको प्रजातन्त्रको पक्षमा वकालत गर्न निर्देशन दिनुभयो । उहाँले विगतको चुनावको समीक्षा गर्दै प्रतिनिधिसभामा आफूहरुले काङ्ग्रेसलाई सहयोग गरेको तर काङ्ग्रेसले स्थानीय तहको निर्वाचनमा इमान्दारिता नदेखाएकै कारण नराम्ररी पराजय हुन पुगेको बताउनुभयो ।

उहाँले मुलुकमा ०६२÷०६३ को आन्दोलनपछि नयाँ नेपाल बनाउने नाममा धर्म निरेपक्षता लागू गरिएको आरोप लगाउँदै हिन्दूराष्ट्र र राजतन्त्र समाप्तको घोषणा गरी गणतन्त्र स्थापना गर्दासम्म पनि जनताले नयाँ नेपालका जनता भएको महसुस गर्न नसकेको दाबी गर्नुभयो । सम्मेलनमा प्रदेश २ बाट आठवटै जिल्लाका अध्यक्ष एवं प्रतिनिधि, स्थानीय तहका प्रतिनिधि र वडा प्रतिनिधिलगायत ३२५ जना सहभागी छन् ।
–––