यूएस ओपनको फाइनलमा नियम तोडेको भन्दै सेरेनालाई १९ लाख जरिवाना

0
480

अमेरिकी टेनिस असोसिएशनले सेरेना विलियम्समाथि यूएस ओपनको फाइनलमा नियम तोडेको भन्दै १७ हजार डलर (१९ लाख रुपैयाँ) को जरिवाना तोकेको छ । सेरेना फाइनलमा जापानको नाओमी ओसाकासँग हारेकी थिइन् ।

असोसिएशनले सेरेनालाई तीन मुद्दामा जरिवाना लगाएको छ । यसमा खेलको क्रममा कोचिङ लिएका कारण चार हजार डलर, र्याकेट फ्याँकेकोमा तीन हजार डलर र चेयर अम्पायरसँग दुर्व्यवहार गरेकाले १० हजार डलर जरिवाना तोकिएको छ ।

ओसाकाले खेलको पहिलो सेट निकै सजिलै जितेकी थिइन् । दोस्रो सेटमा सेरेना उत्कृष्ट प्रदर्शनका लागि कोसिस गरिरहिन् । यो क्रममा उनका कोचले टिप्स दिनका लागि केही इशारा गरे । म्याचको क्रममा चेयर अम्पायरले एक गेमको जरिवाना लगाए । कोचको इशारालाई अम्पायरले नियमको उल्लंघन माने । अम्पायर कार्लोस रामोसको निर्णयपछि सेरेनाले रिसमा आफ्नो र्याकेट फ्याँकिदिइन् । त्यसपछि उनलाई चोर भन्दै गाली गरिन् ।

सेरेनाले जरिवाना लगाइनु ठिक नभएको बताएकी थिइन् । उनले भनिन्, ‘उनले बेइमानी गरेका थिएनन् । अम्पायरले उनीमाथि लैंगिक भेदभाव गरे । एक खेलको जरिवाना लगाइनु ठिक होइन । पुरुषको प्रतिस्पर्धामा यदि यस्तै भएको भए अम्पायरले जरिवाना लगाउँदैनथे ।