LATEST ARTICLES

महायज्ञबाट ३ करोड ४५ लाख ९ हजार १ सय ८४ रुपियाँ बचत

पोखरा । मानवसेवा आश्रम हेम्जा शाखाले आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ–२०८३ को आयव्यय विवरण सार्वजनिक गरेको छ ।

आश्रमले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी २०८३ वैशाख १९ देखि २६ गतेसम्म पोखरा महानगरपालिका–२५ हेम्जामा सम्पन्न महायज्ञबाट कुल ३ करोड ८१ लाख ७१ हजार ७ सय ७१ रुपियाँ ५३ पैसा सङ्कलन भएको जानकारी दिएको हो ।

महायज्ञ मूल आयोजक समिति संयोजक तथा सामाजिक अभियन्ता अनितकुमार शाहीका अनुसार उक्त रकम नगद, चेक, क्यूआर तथा अनलाइन माध्यमबाट प्राप्त दान, व्यक्ति तथा संस्थागत प्रतिबद्धता, स्थानीय तहबाट प्राप्त सहयोग, जिन्सी सहयोग, दानपेटिका, गोप्यदान तथा विभिन्न बिक्रेताबाट प्राप्त छुट रकमसमेत समावेश गरिएको हो ।

महायज्ञ सञ्चालनका लागि ७७ लाख १२ हजार ५ सय ८७ रुपियाँ ५२ पैसा खर्च भएको शाहीले जानकारी दिनुभयो ।

मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीका अनुसार महायज्ञबाट ३ करोड ४५ लाख ९ हजार १ सय ८४ रुपियाँ बचत भएको छ ।

पत्रकार सम्मेलनमा सार्वजनिक विवरणअनुसार नगद, चेक, क्यूआर तथा अनलाइन माध्यमबाट मात्रै २ करोड २४ लाख ७९ हजार १ सय ६३ रुपियाँ सङ्कलन भएको थियो ।

त्यस्तै व्यक्तिगत तथा संस्थागत प्रतिबद्धता र स्थानीय तहबाट १ करोड ४४ लाख ४ हजार ८ सय ५४ रुपियाँ प्राप्त भएको जनाइएको छ ।

दानपेटिकाबाट ४ लाख २२ हजार ५ सय ७३ रुपियाँ, ब्याजबाट २६ हजार ६ सय ७ रुपियाँ, गोप्यदानबाट ११ हजार ६ सय १० रुपियाँ तथा विभिन्न बिक्रेताबाट छुटस्वरूप ९ हजार ५ सय ६९ रुपियाँ प्राप्त भएको विवरणमा उल्लेख छ ।

केन्द्रीय अध्यक्ष अधिकारीले मानवसेवा आश्रम हेम्जा शाखाको निर्माणाधीन भवन, लक्ष्मीनारायण मन्दिर, मुक्तिनाथ सेवा धर्मशाला निर्माण तथा आश्रमको अक्षयकोष वृद्धि गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको बताए ।

उहाँका अनुसार हाल पोखरा महानगरपालिका–२५ हेम्जा र पोखरा–१७ छोरेपाटनस्थित शाखामा ८६ महिला, १ सय ६२ पुरुष, पाँच बालक र चार बालिका गरी २ सय ५४ जना असहाय तथा बेसहारा नागरिक संरक्षणमा रहेका छन् ।

उनीहरूको संरक्षण, भोजन, स्वास्थ्य उपचार तथा अन्य आधारभूत व्यवस्थापनका लागि मासिक करिब १९ लाख रुपियाँ खर्च हुने गरेको उहाँले जानकारी दिनुभयो ।

२०६९ साल भदौ १३ गते मकवानपुरको हेटौंडाबाट सेवा सुरु गरेको मानवसेवा आश्रमले हाल सातै प्रदेशका २३ जिल्लामा ३४ शाखामार्फत मानव सेवा तथा संरक्षणको कार्य सञ्चालन गरिरहेको जनाएको छ ।

पत्रकार सम्मेलनमा केन्द्रीय अध्यक्ष रामजी अधिकारीको अध्यक्षता रहेको कार्यक्रमको स्वागत पत्रकार तथा सामाजिक अभियन्ता सुष्मा पौडेलले गर्नुभएको थियो भने सञ्चालन महायज्ञ मूल आयोजक समितिका सचिव पदमबहादुर केसीले गर्नुभएको थियो ।

सेती नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह

पोखरा । कास्कीका प्रमुख जिल्ला अधिकारी  कुमानसिंह गुरुङले वर्षायाममा सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।

पोखरा महानगरपालिका वडा नं. १५ र १७ को सीमास्थित रातोपैह्रामा चट्टानसहितको पहिरो खस्दा सेती नदीको बहाव आंशिक रूपमा अवरुद्ध भई पानीको सतह बढेपछि आइतबार प्रजिअ गुरुङको नेतृत्वमा स्थलगत अनुगमन गरिएको हो ।

स्थानीयसँगको छलफलपछि प्रजिअ गुरुङले सेती नदीको बहाव अवरुद्ध भएको विषयमा जिल्ला प्रशासन गम्भीर रहेको बताउँदै विस्तृत प्राविधिक अध्ययनपछि आवश्यक निर्णय लिइने जानकारी दिनुभयो ।

उहाँले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सम्बन्धित निकायसँग समन्वय गरेर आवश्यक व्यवस्थापनको प्रक्रिया अघि बढाइएको बताउनुभयो ।

प्रजिअ गुरुङले नदीमा पानीको बहाव बढ्दै गएको र अवरुद्ध स्थानमा बनेको प्राकृतिक जलाशय एकैपटक फुटे तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुग्न सक्ने सम्भावना रहेको उल्लेख गर्दै जोखिमको वैज्ञानिक मूल्याङ्कन गरी आवश्यक व्यवस्थापन गरिने बताउनुभयो ।

उहाँले सेती नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन, अनावश्यक रूपमा नदी आसपास नजान तथा सम्भावित विपद्को पूर्वतयारी गर्न आग्रह गर्नुभयो ।

अनुगमन टोलीमा पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङ, सहायक प्रमुख जिल्ला अधिकारीद्वय चित्राङ्गत बराल र थमनसिंह गौतम, चारओटै सुरक्षा निकायका प्रमुख तथा सिंचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना पोखराका प्रमुख विदुर श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।

कास्कीबाट सञ्चालन हुने लामो दूरीका सवारी साधनलाई रात्रीकालीन सञ्चालनमा   रोक

 

पोखरा  ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा जल तथा मौसम विज्ञान विभागले कास्कीसहित गण्डकी प्रदेशका विभिन्न जिल्लामा अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

सोही अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै कास्कीबाट सञ्चालन हुने लामो दूरीका सवारी साधनमा रात्रीकालीन सञ्चालनमा रोक लगाइएको जानकारी दिनुभयो ।

पोखरा–काठमाडौं (पृथ्वी राजमार्ग), पोखरा–बुटवल (सिद्धार्थ राजमार्ग), पोखरा–बागलुङ (भूपी शेरचन राजमार्ग) तथा पोखराबाट महेन्द्र राजमार्ग हुँदै पूर्वी नेपालतर्फ जाने र त्यहाँबाट पोखरा भित्रिने सवारी साधन साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म सञ्चालन गर्न रोक लगाइएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै, पोखराबाट ग्रामीण क्षेत्रमा सञ्चालन हुने सार्वजनिक सवारी साधन पनि साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म सञ्चालन नगर्न आग्रह गरिएको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालय कास्कीले नागरिकलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन तथा खोल्सा, खोला र नदी किनारमा नजान अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत प्रदीप पौडेलद्वारा शनिबार जारी सूचनामा कुनै पनि बेला आकस्मिक बाढी आउन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रबाट टाढा रहन, प्रशासन तथा सुरक्षा निकायबाट जारी सूचनाको पालना गर्न र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।

प्रशासनले बाढी, पहिरो र डुबानको उच्च जोखिममा रहेका स्थानका बासिन्दालाई आवश्यक परे सुरक्षित स्थानमा सर्न तथा मौसम र सुरक्षा निकायबाट जारी सूचनाको निरन्तर पालना गर्न आग्रह गरेको छ ।

आपत्कालीन अवस्थामा तत्काल १२३४ नम्बरमा सम्पर्क गर्नु हुन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

गण्डकी प्रदेश दीर्घकालीन पुनर्स्थापना केन्द्रको अनुगमन

 पोखरा । कोपिला नेपालद्वारा ब्यबस्थापन भएर संचालनमा रहेको गण्डकी प्रदेश दीर्घकालीन पुनर्स्थापना केन्द्रको अनुगमन तथा निरीक्षण सम्पन्न भयको छ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल नेतृत्वको टिमले सो केन्द्रको स्थलगत अनुगमन गरेको हो।

अनुगमनका क्रममा प्रमुख पौडेलले तत्कालीन समय २०७९ असारको पहिलो हप्ता आफू जिल्ला समन्वय समिति कास्कीको प्रमुखको पदभार लगत्तै पोखरा ३३ को आमाचौरस्थित करिब रुग्ण प्राय बनिसकेको भवन अनुगमनमा पुगेको स्मरण गर्नुभयो ।

पौडेलले तत्कालीन मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ र सामाजिक बिकास मन्त्री नरदेबी पुन रहेको गण्डकी प्रदेश सरकारले निर्माण शुरु गरेर करिब ३ बर्ष सम्म बिबादका कारण रुग्ण बन्न पुगेको थाहा हुनासाथ पहिलो समन्वय र सहजीकरणमा पुगेको उल्लेख गर्नुभयो।

पहिलो अनुगमन र पटक पटकका समन्वय बैठक आयोजना गरेर समाधानको बाटो खोज्ने क्रममा विभिन्न समयमा बनेका प्रदेश सरकार र स्थानिय महानगर समेतले पहल कदमी लिदै गर्दा सो को ब्यबस्थित संचालनको न त खाका नै बन्यो , राज्यको करोडौं लगानी बर्बादिको चरणमा पुग्नै लाग्दा जि स स ले समन्वय ,खबरदारी र सहजीकरणमा निरन्तर लाग्दा संचालन सम्भब भएको उल्लेख गर्नुभयो ।यसबाट गण्डकी प्रदेशभरीका हिंसा पिडित आश्रय बिहिन महिला तथा बालबालिका लाभान्वित भएको देख्न पाँउदा अत्यन्त हर्ष लागेको बताउनुभयो ।

जिल्ला समन्वय अधिकारी नवराज बरालले पछिल्लो समय संचालन र ब्यबस्थापनका कठिनाइ बारे जानकारी लिन अनुगमन गरिएको उल्लेख गर्दै बिद्यमान समस्याको समाधान र केन्द्रको दीर्घकालीन संचालनका लागि निरन्तर समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।जिसस कास्कीका शाखा अधिकृत महिला तथा बालबालिका सम्बन्धि फोकल पर्सन लक्षु शर्माले प्रदेश बिकास समस्या समाधान समितिका बैठक र विभिन्न समन्वय बैठक मार्फत जिसस को निरन्तर प्रयत्न र निर्माण संचालनका निम्ति आफुहरूको पहल सार्थक भएको भन्दै खुशी ब्यक्त गर्नुभयो ।

ब्यबस्थापनको जिम्मेवारी सहित सो केन्द्र संचालन गरिरहेको कोपिला नेपालका कार्यकारी निर्देशक बिना सिलवालले पौडेल नेतृत्वको टिमले सफ़ल संचालनमा खेलेको भुमिका अति फलदायी भएको उल्लेख गर्दै संचालन र ब्यबस्थापनको समस्या ,चुनौती र भाबी योजनाको सम्बन्धमा जानकारी गराउनु भएको थियो।सिलवालले सो केन्द्रमा ७बर्ष मुनिका ११ जना ,७ बाट १८ बर्षमुनिका १९ जना बालबालिका र ११जना महिला गरि जम्मा ४८ जनाले आश्रय लिएको र गत असोज महिना देखि हाल सम्म १२० जनालाइ सेवा प्रदान गरिसकेको जानकारी दिनुभयो।

  केन्द्रमा मनोपरामर्श सहित अन्य सिपमुलक तालिम समेत प्रदान गर्ने गरिएको जनाइएको छ । तरकारी,पशुपालन तथा अन्य खेती प्रबिधी , हस्तकला सहित रुचि अनुसारको सीप बिकास र ससक्तिकरणका कार्य समेत संचालन गर्ने गरेको सिलवालको भनाइ छ।

सो क्षेत्रमा खानेपानीको समस्या समाधानको पहल गरिदिन स्थानिय वडा र महानगरपालिकालाइ आग्रह गरिएको भन्दै सो को समन्वयका लागि प्रमुख पौडेललाई आग्रह गर्नुभयो ।

सोही परिसरमा पुरानो अर्को भवनको निर्माण कार्य पूरा गर्न सहयोगदाताको खोजी भैरहेको सिलवालको भनाइ छ।

करिब ६ बर्ष अलपत्र अबस्थामा रहेर गण्डकी प्रदेश सरकारले निर्माण सम्पन्न गरेको उक्त आयोजना हाल कोपिला नेपालको ब्यबस्थापनमा पोखरा महानगरको संयोजनमा संचालनमा आएको हो।

गत २०८२ साउन १६ गते मुख्य मन्त्री सुरेन्द्र प्रसाद पाण्डेले उक्त केन्द्र उद्घाटन गर्नुभएको थियो।