ललितपुर प्याट्रियस यहाँ जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको प्लेअपमा प्रवेश गरेको छ ।
आज कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको दोस्रो खेलमा काठमाडौँ किङ्ग्स–११ लाई १० विकेटले पराजित गर्दै ललितपुरले लगातार तीन खेलमा जित निकाल्दै एक खेल अगावै प्लेअपमा पुग्न सफल भएको हो ।
काठमाडौँले दिएको ११० रनको लक्ष्य ललितपुरले १० ओभर ३ बलमा बिना विकेटको क्षतिमा पूरा ग¥यो । ललितपुरको जितमा भारतीय ब्याट्सम्यान गौरव तोमार र जय किशन कोल्शावालाले पहिलो विकेटका लागि ११५ रनको शतकीय साझेदारी गरे । तोमारले ८० रन बनाउँदा कोल्शावालाले अविजित २७ रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँले १९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १०९ रन बनाएको थियो । काठमाडौँका लागि कप्तान केभिन ओ ब्रोएनले ४२, सिद्धान्त लोहनीले २१ र संसाद शेखले १० रन बनाएका थिए । अन्य ब्याट्स म्यानले दोहोरो अङ्क जोड्न सकेनन् ।
ललितपुरका पवन सर्राफले तीन तथा राशिद खान र योगेन्द्रसिंह कार्कीले दुई÷दुई विकेट लिएका छन् । पहिलो खेलमा विराटनगरसँग पराजित भए पनि दोस्रो खेलमा चितवन र तेस्रो खेलमा पोखरा राइनोजलाई हराएको थियो । ललितपुर अब अन्तिम खेलमा बिहीबार भैरहवासँग खेल्नेछ । काठमाडौँले पहिलो खेलमा चितवनलाई हराएको थियो ।