रुस्लान दशौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार ‘ए’ डिभिजनका दुई क्लब त्रिभूवन आर्मी र थ्री स्टारबीच सिमरा रङ्गशालामा प्रतिस्पर्धा हुँदैछ ।
दुई पटकको विजेता त्रिभुवन आर्मी क्लबले रुस्लान थ्री स्टार क्लबसँग सिमरा रङ्गशालामा दोश्रोपटक फाइनल खेल्दैछ । थ्री स्टारलाई हराउँदै आर्मीले गत वर्ष दोश्रो पटक सिमरा गोल्डकपको उपाधि जितेको थियो ।
२०७१ सालमा सम्पन्न छैठौं संस्करणको समेत विजेता रहेको आर्मी चौथोपटक सिमरा गोल्डकपको फाइनलमा पुगेको हो । आठौं संस्करणको फाइनलमा संकटा क्लबसंग पराजित हुँदै आर्मीले उपविजेताका रुपमा चित्त बुझाएको थियो ।
नवजनजागृति युवा क्लब सिमराको आयोजनामा १० वर्षदेखि बारा जिल्लामा निरन्तर आयोजना हुने यो एउटा मात्रै राष्ट्रियस्तरको प्रतियोगिता हो । सिमरा गोल्डकपको इतिहासमा मनाङ मस्र्याङ्दी क्लब र आर्मीले समान दुइ–दुइ पटक उपाधि उचालेका छन् । तर, लिग लगत्तै आयोजना भएकाले मनाङले यसवर्ष प्रतियोगितामा भाग लिएन ।
आर्मी तेश्रो पटक उपाधि जित्दै प्रतियोगिताको सर्वाधिक सफल टोली बन्ने प्रयासमा मैदानमा उत्रने छ भने दोश्रोपटक फाईनल यात्रा तय गरेको थ्रिस्टार आर्मीसंग गत वर्षको हारको बदला लिंदै उपाधि विजेताको सूचिमा सामेल हुने दाउँमा छ ।
एपीएफलाई ४–२ ले हराउँदै सिमरा गोल्डकपको यात्रा सुरु गरेको आर्मीले सेमिफाइनलमा आयोजक नवजनजागृति यूवा क्लब सिमरालाई १–० ले पराजित गरेको थियो । थ्री स्टारले फाइनल सम्मको यात्रा तय गर्ने क्रममा क्वार्टरफाइनलमा संकटालाई २–० र सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई १–० ले हराएको थियो ।
सिमरा गोल्डकपमा यो पटक २ खेल खेल्ने क्रममा अहिलेसम्म गोल नखाएका थ्रीस्टारका गोलकिपर एलन न्यौपानेको नाममा सर्वाधिक क्लिनसिट रहेको छ । आर्मीका टंक बस्नेत र थ्रीस्टारका फोफाना फोडे २–२ गोलका साथ सर्वाधिक गोलकर्ताको सुचीमा आगाडी छन् ।
शुक्रबार विहान सिमरा रङ्गशालामा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुबै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्ने रणनीतिका साथ मैदानमा उत्रने बताए । आर्मीका तर्फबाट प्रशिक्षक नविन न्यौपाने र टिम म्यानेजर चुनबहादुर थापा तथा थ्रिस्टारका प्रशिक्षक मेघराज केसी र कप्तान विक्रम लामा कन्फ्रेन्समा सहभागि थिए । आर्मीका कप्तान भरत खवास कन्फ्रेन्समा सहभागि भएनन् ।
थ्री स्टारका प्रशिक्षक मेघराज केसीले आफ्नो टोली फाइलन जित्दै सिमरा गोल्डकपको शिल्डमा नाम लेखाउने प्रयासमा रहने बताए ।
‘हामीलाई फाइनल जितेर सिमरा गोल्डकपको विजेता सूचिमा नाम लेख्नुछ ।’ उनले भने । दुबै टिम जित्नका लागि मैदानमा उत्रने भन्दै उनले आफू आर्मीविरुद्धको खेलमा विशेष तयारीका साथ मैदानमा आउने बताए ।
आर्मी र थ्रीस्टार दुबै टिमका खेलाडीले सिमरामा स्तर अनुसारको प्रदर्शन गर्न नसकेको भन्दै प्रशिक्षक केसीले लगातारको प्रतियोगिताका कारण दुबै टिमको प्रदर्शनलाई प्रभावित गरेको बताए ।
‘आर्मीकै कुरा गर्दा कतिपय देखिनु पर्ने अनुहार टिममा छैनन्, थ्रीस्टारको पनि लिगपछि केहि खेलाडी बाहिरिएका छन् नयाँ आएका टिममा एडजस्ट हुन बाँकी छ’ उनले भने ।
थ्री स्टारका कप्तान विक्रम लामाले आर्मीसंग खेल्नु आफूका लागि एउटा अवसर समेत रहेको बताए । ‘उच्च फर्ममा रहेको आर्मीसंग खेल्दा हामीले केहि नयाँ कुरा सिक्ने अवसर समेत पाउँछौं’ उनले भने ।
आर्मीका प्रशिक्षक नवीन न्यौपानेले भने फाइनलका दुवै टोली राम्रो भएको कारण खेल ५०÷५० हुने बताए । न्यौपाने भन्छन, ‘जसले मौकाको सदुपयोग गर्न सक्छ उसले नै उपाधि जित्छ । फाइनल पुग्ने दुबै टिम सशक्त हुने भएकाले विशेष रणनीति र मेहनतको जरुरी पर्छ ।’
एक हप्ता अघि बीरगञ्जमा सम्पन्न विशाल मेमोरिएल गोल्डकपको उपाधि जितेको आर्मीले त्यसको भोलिपल्टै सिमरा गोल्डकप खेलेको स्मरण गर्दै प्रशिक्षक न्यौपानेले टिमका केहि खेलाडीलाई मिस गरेको बताए ।
‘लिगपछि नवयूग, दिनेश हेमजन जस्ता खेलाडी टिममा छैनन्, उनिहरुलाइ पक्कै मिस गरेका छौं, तर बीरगञ्जमा उनिहरु विनाको टिमले उपाधि जितिसकेकाले अरु खेलाडी पनि सक्षम छन् भन्ने सावित भइसकेको छ’ प्रशिक्षक न्यौपानेले भने ।
लिग पछिको यस सिजनमा पहिलोपटक नकाउट फुटबलमा भिड्न लागेकाले दुई टिमबीचको खेललाई महत्वका साथ लिएको आर्मीका प्रशिक्षक न्यौपानेले बताए ।
थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले लिग पछिको यस सिजनमा आफूहरुले भाग लिएको २ वटा प्रतियोगिता मध्य दुबैमा फाइनल पुगेकाले टिमका खेलाडीमा उच्च मनोबल रहेको बताए ।
उपाधि रक्षाका लागि कडा संघर्ष गर्ने आर्मीका प्रशिक्षक नयौपानेको भनाई थियो । सिमरा गोल्डकपमा इतिहास बनाउन आफुले आर्मीविरुद्ध जित्ने रणनीतिका साथ खेल्ने थ्रीस्टारका प्रशिक्षक केसीको भनाई छ ।