कांग्रेस सांसदहरूले सरकारको एक वर्ष उपलब्धिविहीन भएको भन्दै आलोचना गरेका छन् । राष्ट्रिय सभाको बिहीबारको बैठकमा उनीहरूले सरकारले नारा मीठो लगाए पनि जनताको दैनिक जीवन परिवर्तन हुने कुनै काम नगरेको बताए ।
सांसद अनिता देवकोटाले वाडडबडी खरिद, सुन तस्करी, निर्मला पन्तको बलात्कार र हत्याजस्ता विषय उठाउँदै एक वर्षको अवधिमा सरकार काण्डैकाण्डमा मुछिएको आरोप लगाइन् । प्रधानमन्त्री केपी ओलीले सरकारले धेरै काम गरेको दाबी गर्दै ‘हेर्दाहेर्दै भैंसी पनि ब्यायो, दूध पनि दियो’ भनी दिएको अभिव्यक्तिलाई लक्षित गर्दै देवकोटाले सोधिन्, ‘भैंसी कस्तो ब्यायो, दूध ककसले पाए ? कि दूध सिंहदरबारलाई मात्रै पुग्यो ?’
अर्की सांसद मुक्ताकुमारी यादवले आममानिसले विकास तथा सुरक्षाको अनुभूति गर्न नसकेको भन्दै सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारामै सीमित रहेको उल्लेख गरिन् ।
सिंहदरबार प्रवेश सहज बनाउन माग
सत्तारूढ दलका सांसद कालीबहादुर मल्लले सर्वसाधारणलाई सिंहदरबार प्रवेशमा सहजता दिलाउन माग गरे । सुरक्षा जाँच जति कडा बनाए पनि सर्वसाधारणको प्रवेश रोक्न नहुने उनको भनाइ थियो ।
‘सिंहदरबार प्रवेशमा अनेक सास्ती छ, मन्त्रालय वा कुनै निकायले नाम नपठाईकन सर्वसाधारण मानिस भित्र जान पाउँदैनन् । यस्तो किन ?,’ उनले भने, ‘पहिचान खुल्ने नागरिकता वा अन्य परिचयपत्रका आधारमा आममानिसलाई सहजै सिंहदरबार पस्न दिइनुपर्छ ।’ उनले सिंहदरबारका खाली स्थान बिग्रेका सामानले भरिन थालेको भन्दै मुख्य प्रशासनिक केन्द्रलाई ‘डम्पिङ’ साइट नबनाउन ध्यानाकर्षण गराए ।