कथाकार ललित विष्टको ‘मोहपथ’ सार्वजनिक

0
1439

काठमाडौं । कथाकार ललित विष्टको ‘मोहपथ’ सार्वजनिक भएको छ । बिष्टको पहिलो कथा संग्रह ‘मोहपथ’ आख्यानकारहरु नयनराज पाण्डे, प्रगती राई, हाङयुग अज्ञात र लेखक विष्टले काठमाडौंमा सार्वजनिक गरेका हुन् ।

मोहपथमा समावेश कथाहरुले जीवनयापनका क्रममा मानिसले मानसिक रुपमा कसरी संघर्ष गर्छ भन्ने दर्शाउन खोजेको वक्ता अज्ञातले बताए। जन्म र मृत्यु साश्वत सत्य भएको धारणा राख्दै उनले जीवन जिउनेक्रममा गर्ने संघर्ष भने अधिकांशको फरक(फरक हुने बताए ।

‘मानिसको जन्म र मृत्युको कथा एउटै हो। तर, यसबीचमा जुन संघर्षहरु मानिसले गर्छन्, ती चाहिँ भिन्न(भिन्न हुन्छन्। कतिपयको मिल्न पनि सक्छ,’ उनले थपे, ‘मोहपथ भित्रका कथाहरुले मान्छेले कसरी मनोवैज्ञानिक संघर्ष गर्छ भन्ने कुरा स्पष्ट रुपमा बोलेका छन्।’

मनोवैज्ञानिक लेखन पद्धति नेपालमा भित्रिएको धेरै भइसकेको स्मरण गर्दै उनले पछिल्लो समय चिन्तन गर्ने परम्परा हराउँदै गएकोमा चिन्ता प्रकट गरे।

लेखक प्रगती राईले नेपालमा धेरै पुस्तक प्रकाशन भए भनेर चिन्ता गरिने गरिएकोमा असहमति जनाउँदै उनले नयाँ लेखकहरुलाई प्रकाशकले विश्वास गर्नुपर्नेमा जोड दिइन् । राईले भनिन्, ‘अधिकतम लेखिनुपर्छ। हामीसँग लेखिनुपर्ने कुराहरु धेरै छन्। लेखिएन भने, प्रतिष्पर्धा भएन भने हामीले राम्रो कुरा दिन सक्दैनौं।’ उनले कतिपय कथाका लाइन र प्लटहरु आफ्ना लागि बिल्कुलै नयाँ लागेको बताइन्। नेपालको पश्चिम क्षेत्रको सांस्कृतिक र सामाजिक परम्परालाई न्याय गर्ने गरी विष्टले सो क्षेत्रको भाषा शैलीमै सहजताका साथ कथा बुनेको राईले बताइन्।

समिक्षकको रुपमा बोल्दै आख्यानकार पाण्डेले लेखक विष्ट शक्तिशाली भएर लेखनमा आएको भन्दै स्वागत गरे। उनले कृति नेपाली कथा साहित्यको क्षेत्रमा उज्ज्वल रहेको दाबी गरे। ‘उहाँ मेरो पुस्तालाई झस्काउने गरी आउनु भएको छ। कथा साहित्यको भविष्य उज्ज्वल छ’, पाण्डेले भने। आख्यानकार पाण्डेले मोहपथ ४÷५ वर्षयता आएका कथा कृतिमध्ये बलियो कृतिका रुपमा आएको दावी गरे ।

कथाहरु पढ्न थाल्दै गर्दा आफूलाई यति बलियो किसिमले कथा निर्माण गरिएको होला भन्ने विश्वास नलागेको बताउँदै उनले लेखकसँग कथा निर्माण गर्ने शिल्प अद्भुत रहेको बताए ।

लेखक विष्टले आफ्नो जीवनकै पुस्तक प्रकाशन तथा लोकार्पणमा साथ, सहयोग र हौसला दिने सबैप्रति अभार प्रकट गरे।
उनले हरेक कथामा आफूले अँध्यारो, भ्रम र पागलपनमाथि काम गर्न खोजेको जानकारी दिए। फिनिक्स बुक्सले संग्रह प्रकाशन गरेको हो।