भीभीआईपी टूरिष्ट मोहम्मद अब्दुल हमिद !

२९ कार्तिक २०७६, शुक्रबार

२९ कात्तिक, काठमाडौं । नेपाल भ्रमणमा आउने उच्च तहका विदेशी अतिथि सामान्यतया एक वा दुई दिनको व्यस्त सेड्यूल लिएर आएका हुन्छन् । केही ‘महत्वपूर्ण’ भेटवार्ताहरु गर्छन्, द्विपक्षीय सम्झौतामा हस्ताक्षर गर्छन् र भ्रमण फलदायी भयो भन्दै स्वदेश फर्किन्छन् ।

तर, बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको नेपाल भ्रमण नितान्त फरक देखिएको छ । चार दिनको छुट्टी लिएर आएका उनी फुर्सदिलो घुमघाम गरिरहेका छन् । राजनीतिक भेटवार्ताभन्दा नेपालका पर्यटकीय क्षेत्रको अवलोकनमा उनको बढि चाख देखिएको छ । उनीसँग ४९ जनाको जम्बो टिम पनि छ ।

‘बंगलादेशमा नेपाल भन्नासाथ पर्यटकीय गन्तव्यको छाप छ,’ भ्रमण दलमा रहेका यूनाइटेड न्यूज अफ बंगलादेश (यूएनबी)का पत्रकार सफीकूल इस्लाम अनुभव साट्छन्, ‘फेरि हाम्रा राष्ट्रपति भ्रमणका सौखिन पनि हुनुहुन्छ ।’

उनी थप्छन्, ‘हामीले नेपालको प्राकृतिक सुन्दरताबारे त धेरै सुनेका थियौं, तर मानिसहरु भेटेपछि झन् धेरै प्रभावित भयौं । ढाकाको सडकमा थोरै छोइयो भने पनि आँखा तरेर हिँड्ने मानिसहरुसित बानी परेका हामीलाई यहाँका जनताका विनम्रताले छोयो ।’

भ्रमण टोलीमा आएका तीन पत्रकारमध्ये एक हुन्, इस्लाम । यसअघि राष्ट्रपतिका पछिल्ला आधा दर्जन विदेश भ्रमणमा पनि उनी साथ थिए । रसिक व्यक्तित्वका आफ्ना ७५ वर्षीय राष्ट्रपति बंगलादेशमा निकै लोकप्रिय रहेको उनी बताउँछन् ।

राष्ट्रपतिको रुपमा हमिदको यो दोस्रो कार्यकाल हो । सन् २०१३ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका उनी २०१८ मा पुन निर्वाचित भएका थिए । व्यक्तिगत लोकप्रियताकै बलमा हमिद दोस्रोपटक राष्ट्रपति बनेको इस्लामको कथन छ । हमिद जहाँ पुग्छन्, सो गन्तव्यको बंगलादेशी नागरिकलाई सकारात्मक छाप पर्ने इस्लाम बताउँछन् ।

राष्ट्रपतिले आफ्नी श्रीमती र एक छोरालाई पनि भ्रमण दलमा समावेश गरेका छन् । हमिद चार सन्तानका बाबु हुन् ।

बेलायत, भारत र बंगलादेश, तीन वटा देशको शासन व्यवस्थाका साक्षी हुन् हमिद । भारत बेलायती उपनिवेश छँदा उनको जन्म भारतीय नागरिककारुपमा भएको थियो । भारतबाट छुट्टिएर पाकिस्तान बन्दा उनी पाकिस्तानी बने । पाकिस्तानबाट बंगलादेश बनेपछि उनी पनि बंगाली भए ।

अवामी लिगबाट राजनीतिक गरेका हमिद राष्ट्रपति हुनुअघि सभामुख थिए । सन् २००९ मा सभामुख बनेका उनलाई सन् २०१३ मार्चमा तत्कालिन राष्ट्रपति जिल्लुर रहमान बिरामी भएर थला परेपछि कार्यवाहक राष्ट्रपति बनाइएको थियो । अपि्रलमा भएको राष्ट्रपति चुनावमा उनी निर्विरोध निर्वाचित भए । चार वर्षे कार्यकाल पुरा गरेका उनलाई २०१८ को राष्ट्रपति चुनावमा पनि कसैले बलियो चुनौति दिन सकेन । यद्यपि, वंगलादेशमा राष्ट्रपति पद नेपालमा झैैं सेरेमोनियल मात्र हुन्छ ।

Leave a Reply