पोखरामा पुष १८ गतेदेखि २८ गतेसम्म समृद्धि स्टिल्स औद्योगिक व्यापार मेला हुने

९ पुष २०७६, बुधबार

सरिता तिम्सिना पगेनी
पोखरा । लगानीको सम्वर्दन :उद्योग व्यवसायको प्रवद्र्धन भन्ने उद्घोष सहित यहि पुष १८ गतेदेखि २८ गतेसम्म पोखरामा समृद्धि स्टिल्स औद्योगिक व्यापार मेला हुने भएको छ । पोखरा उद्योग बाणिज्य संघ, नेपाल उद्योग महासंघ, गण्डकी प्रदेश तथा उद्योग बाणिज्य महासंघको आयोजना, पोखरा महानगरको सहयोग तथा नेपाल पर्यटन बोर्ड र राष्ट्रिय बाणिज्य बैंकको प्रवद्र्धनमा पोखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा मेला हुन लागेको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयोे ।मेलामा औद्योगिक तथा व्यापार, हस्तकला, कृषि, पुष्प, अटोमोवाईल, सूचना तथा प्रविधि प्रदर्शनी गरिनेछ । यसका साथै विभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरुको गतिविधि पनि प्रर्दशनी लगायत दैनिक उपभोग्य वस्तु घरायसी समान तथा श्रृंगारका सामानहरु विक्री गरिनेछ ।
मेलामा लोकदोहोरी, पञ्चेबाजा प्रतियोगिता, नेपालका ख्यातिप्राप्त ब्याण्डहरुको सांगीतिक कार्यक्रम, खुल्ला एकल नृत्य प्रतियोगिता पनि समावेश गरिएको छ । गण्डकी प्रदेशमा रहेका होमस्टेहरुको स्टल मार्फत पर्यटकीय नयाँ गन्तब्यहरुको प्रचार गरिने पनि कार्यक्रममा जानकारी गराइयो । मेला अबलोकनका लागि प्रबेश टिकट बिद्यार्थीका लागि४० रुपैयाँ र सर्बसाधारणका लागि ६० रुपैयाँ तय गरिएको छ । नेपाल टेलिकमसँगको सहकार्यमा मेलामा आउने अवलोकनकर्तालाई प्रत्येक ६० रुपैँयाको टिकटमा ५० रुपैँया बराबरको ब्यालेन्स सहितको सिमकार्ड प्रदान गरिने व्यवस्था मिलाईएको छ जसका लागि अवलोकनकर्ताले आफ्नो नागरिकताको फोटोकपी र फोटो ल्याउने पर्ने छ ।
मेला सम्पन्न गर्नको लागि नेपाल उद्योगा वाणिज्य महासंघका मेला समितिका सभापति दिल सुन्दर श्रेष्ठको संयोजकत्वमा ४५१ सदस्यीय मेला मुल आयोजक समिति गठन गरिएको आयोजकले जानकारी गराएको छ ।

मेलामा लोकदोहोरी, पञ्चेबाजा प्रतियोगिता तर्फ क्रमशः ५०, ३० २० हजार रुपैँया र सान्त्वाना पुरस्कार तर्फ १० हजार रुपैँया साथै उत्कृष्टलाई ५ हजार प्रदान गरिनेछ । एकल नृत्य प्रतियोगिता तर्फ क्रमशः २०, १५, १० हजार रुपैँया, सान्त्वानालाई ५ हजार सहित उत्कृष्ट नृत्य प्रशिक्षकलाई २ हजार रुपैँया प्रदान गरिनेछ । ११ दिन चल्ने मेलाका करिब ८० प्रतिशत स्टल बुकिङ भइसकेको आयोजकले जनाएको छ ।

कार्यक्रममा बोल्दै पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष दामु अधिकारीले १ लाख दर्शकले मेला अबलोकन गर्ने तथा मेलामा आउने दर्शकको लागि टिकटमा दैनिक लक्की ड्र मार्फत प्याराग्याडिङ साथै अन्य विभिन्न उपहारहरु समेत प्रदान गरिने जानकारी दिए । संघका महासचिब एबं प्रचारप्रसार उप–समिति संयोजक अर्जुन पोखरेलले नेपाल भ्रमण बर्ष २०२० लाई सघाउन तथा राष्ट्रको औद्योगिक एबं कृषिजन्य उत्पादनलाई पवद्र्धन तथा बजारीकरणमा सघाउ पुर्याउने उदेश्यले मेलाको आयोजना गरिएको बताए । ।मेला नाफामुलक नभई पर्यटन पर्वद्धन का साथै उत्पादक र उपभोक्ताबीच प्रतक्ष्य भेटघाट गराउने महान उत्सब भएको उनले जानकारी दिए । पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष दामु अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष नारायण कोइराला, नेपाल पत्रकार महासंघ कास्कीका सल्लाहकार रमेश पौडेलले पनि बोलेका थिए ।

Leave a Reply