विक्रम सम्वत २०७६ को विदाई सँगै २०७७ सालले नेपालीको घर अाँगनमा पाइला टेकिसकेको अवस्थामा गीतकार प्रकाश सुवेदीको शब्द , गायक तथा सङ्गीतकार हरि लम्सालको सङ्गीत/स्वर र बिरेन्द्र भाट विपिनको भिडियो सम्पादनमा `भो नपठाऊ शुभकामना´ बोलको गीत सार्वजनिक भएको छ। पुरै विश्वनै कोरोनाको महामारीले प्रताडित भैरहेको बेला हरेक संसारवासीमा अमनचयन, हर्ष, उमङ्ग जस्ता कुराहरु हराउँदै गएका छन्। न त नयाँ वर्ष न चाडपर्व जस्ता अवसरहरुले नै मानिसलाई खुशी तुल्याउन सकेको छ।
नयाँ वर्ष अाए पनि मनमा कुनै हर्ष छैन छ त केबल खल्लोपन र सन्त्रास मात्र। यस्तो सन्त्रासको बीचमा पनि शुभकामनाहरुको अोइरो लाग्दा सायद गीतकार प्रकाश सुवेदीलाई कसैले जिस्क्याईरहे जस्तो अाभास हुन्छ र मुक्तकीय शैलीमा `प्रकृति नै बैरी बनेको अवस्थामा भो नपठाऊ शुभकामना´ भन्छन्।
भो नपठाऊ शुभकामना …..
मुहारमा छैन कुनै उमङ्ग हर्ष
के अर्थ अाएर खल्लो नयाँ वर्ष
जिस्क्याए झैं लाग्न थाल्यो भो नपठाऊ शुभकामना
प्रकृति नै बैरी बन्यो दिनचर्या छ संघर्ष
भो नपठाऊ शुभकामना ……..