डा. टीकाराम पाेख्रेल
पछिल्लोपटक सरकारबाट जेठ ३२ गतेसम्मका लागि लकडाउन थपिएपछि लकडाउनप्रतिको सर्वसाधारणको धारणा जान्न गरिएको एक सामजिक सञ्जाल सर्वेक्षणमा ९० प्रतिशत समाजिक सञ्जाल प्रयोगकर्ता लकडाउन थपिएकोप्रति सकारात्मक देखिएनन् । जब कि पहिलो पटक गत २०७६ चैत्र १० गते सरकारले पहिलोपटक लकडाउनको निर्णय गर्दा सरकारको निर्णयको पक्षमा झण्डै ९० प्रतिशत थिए । त्यसबेला सरकारले लकडाउनको निर्णय गरेकोमा सर्वसाधारणले सरकारलाई धन्यवााद दिएका थिए । बरु लकडाउन अझ छिटो गर्नुपथ्र्यो भन्ने प्रतिक्रिया सर्वसाधारणबाट आएको थियो ।
यतिबेला साह्रै थोरै मानिस मात्र लकडाउनको पक्षमा छन् । उनीहरुले भने अझै पनि लकडाउन एक मात्र विकल्प हो र अब बल्ल संक्रमण बढ्दो क्रममा रहेकाले लकडाउनको झनै आवश्यकता बढेका जिकिर गरेका छन् । केही मध्यमार्गीहरुले भने लकडाउन आवश्यक छ, तर लकडाउन पालना सम्बन्धी निर्देशिका बनाउनुपर्ने र जोखिम क्षेत्र तोक्नुपर्ने जस्ता सुधार गरी लकडाउनको प्रकृति परिवर्तन गर्नुपर्ने धारणा राखेका छन् ।
विगतमा लकडाउन निर्णयको स्वागत गर्ने तिनै नागरिकहरुको आज लकडाउनप्रति यस्तो वितृष्णा किन ? जब कि कोरोनाको जोखिम न्यून भएको छैन, बरु झन झन् जोखिम बढ्दो छ । लकडाउनको समर्थनमा मत जाहेर गर्दा कोरोना संक्रमणबाट जोगिन लकडाउन एक मात्र विकल्प हो भन्ने सर्वसाधारणको बुझाइ थियो । जुन बेला मानिसले लकडाउन भोगका थिएनन् । लकडाउन कस्तो हुन्छ र लकडाउनले कोरोनाबाट कसरी जोगिन सकिन्छ भन्ने जानकारी सर्वसाधारणलाई थिएन । अरु देशमा लकडाउन भएको सुनिएको थियो र सुनेकै भरमा त्यतिबेला समर्थन गरिएको थियो । तर आज लकडाउनको भोगाइपछि सर्वसाधानरणको धारणा भिन्न आएको छ । लकडाउनमा देखिएको अव्यवस्थाले गर्दा नै लकडाउनप्रतिको धारणामा परिवर्तन आएको हुन सक्छ ।
भनिन्छ– पढेरभन्दा परेर जानिन्छ । त्यही भएर होला लकडाउनको भोगाई अगाडि र दुई महिनाभन्दा बढीको लकडाउन भोगाइ पछाडि मानिसको विचारमा परिवर्तन आएको छ । लकडाउनका भोगाई, अनुभव र निराशाजनक परिणामले सर्वसाधारणको बुझाई परिवर्तन भएको छ । अधिकांश मानिसहरु लकडाउन कहिले खुल्ला र बन्धनमुक्त भइएला भन्ने पर्खाइमा छन् । आममानिसको मतमा लकडाउन आवश्यक नै छैन । सर्वेक्षणमा सहभागी भएकाहरु भन्छन्– लकडाउनमा मजदुरले खान पाएनन् । व्यापारव्यवसाय ठम्प भयो । सरकारबाट लकडाउन भयो, तर लकडाउनबाट जनजीवनमा परेको असरको संवोधन भएन । मानिसहरु कोरोनाले भन्दा पनि भोकले मर्ने अवस्था सिर्जना भयो ।
मानिसको आवतजावतबाटै कोरोनाको संक्रमण हुने भए सबैभन्दा पहिले त कोरोना संक्रमाणको बीचमा पनि निरन्तर व्यवसाय गरिरहेका तरकारी पसले, खाद्यान्न पसले, पानी सप्लायर्स, सवारी चालक, मेशिनरी औजारको काम गर्ने र लकडाउन छल्दै ठाउँठाउँमा निर्मााणका कार्य गरिहेका मजदूरहरुलाई हुनुपर्ने हो । तर त्यस्तो छैन । काम गरी खाने कम संक्रमित छन् भने काम किन रोक्ने ? फेरि अर्कोतर्फ लकडाउनले हुने खानेलाई खासै फरक परेको छैन, विगतको बैँक वचतले खाएका छन्, बसेका छन् पहुँच पु¥याउएर सवारी पास पनि लिएका छन् । जान मन लागेको ठाउँमा पुगेका छन् तर हुँदा खानेको भने कन्तविजोग छ । दिनभर काममा जान नपाएपछि बेलुका घरमा चुलो बल्दैन । गरिबका लागि मात्र लकडाउन किन ?
वास्तवमा लकडाउन विकल्पविहिन विकल्प हो वा होइन भन्नेमा सर्वसाधारण अन्यौलमा छन् । लकडाउन पालना नगरौँ सरकारको निर्देशन छ र मनमा कोरोना लाग्छ कि भन्ने डर पनि छ । लकडाउन पालना गरौँ अब रोगले भन्दा पनि भोकले जीन्दगीमाथि धावा बोल्नेवाला छ । राहत वितरण भए पनि राहत आवश्यक भएका वास्तविक मजदूर गरिबले भन्दा पनि पहुँचवालाले राहत हात पारेका छन् । अनि भोको पेटमा कसरी लकडाउन पालना गर्ने ?
लकडाउन नागरिकलाई महामारिबाट बचाउनका लागि हो । तर नागरिकको बाँच्न पाउने अधिकारको प्रत्याभूति गर्नुपर्नेमा लकडाउनले त भोक उपचार हुनबाट नागरिकलाई बञ्चित गरेर बाँच्न पाउन अधिकार हनन पो ग¥यो । व्यक्तिहरु बीच शारीरिक दूरी कायम गर्नुपर्नेमा समाजिक दूरी कायम गरेर बाँच्न बाध्य पारिदियो । यस्तो अन्यौलमा विना योजना पटक पटक लकडाउन थप्दा मानिसको जनजीवन प्रभावित बन्नु स्वाभाविक नै हो ।
विज्ञहरुको कुरा सुन्दा कोरोनाको फैलावट विश्वबाट छिटो निर्मूल हुने संकेत देखिन्न । त्यही कारण विश्वका धेरै मुलुकहरुले लकडाउन खुकुलो पार्दै लगेका छन् । नेपालले पनि अन्यत्रबाट सिक्दै लकडाउनको प्रकृतिमा परिवर्तन गर्दै विस्तारै खुकुलो पार्दै लैजानुपर्छ । दूरी कायम गर्दै काम गर्नेले गरिखाऊ भनेर ठाउँ दिनुपर्छ । सुरक्षित हुने उपाय लकडाउन विना पनि हुन सक्दछ । स्वचेतनाको माध्यमबाट हरेक मानिस एक आपसमा दूरी कायम गर्दै अब काममा फर्किनु आवश्यक छ । अन्यथा देशको अर्थ व्यवस्थामा समेत ठूलो प्रभाव पर्न सक्छ ।
अवका दिनमा पनि सीमाना तथा एक अर्को जिल्ला, गाउँ र शहर बीच हुने आवतजावतमा निगरानी आवश्यक छ । एक अर्को जिल्ला, स्थानीय तहमा आवतजावतमा निषेध होइन बरु पीसीआर परीक्षण गरेको व्यक्तिले मात्र जान पाउने मापदण्ड निर्धारण गर्नुपर्दछ । समाजिक दूरी कायम गर्दै समूहमा गर्नुपर्ने काम बाहेक अरु व्यवसाय तत्काल खोल्ने र समूहमा कार्य गर्नेहरुले पीसीआर परीक्षण गरेको हुनुपर्दछ । कृषि कार्यलाई प्रोत्साहन गरिनुपर्छ । कृषि कार्य नरोक्ने भनिए तापनि कृषकका लागि मल, बिऊ, कृषि सामग्रीको अभाव तथा कृषि कार्यमा जान आउन आवतजावतको समस्या भयो भने कृषि कार्य आफैँ रोकिन्छ । त्यसैले अवरोध नगर्नु महत्वपूर्ण होइन वातावरण बनाउने चाहिँ महत्वपूर्ण हो । तर सभा, भेला, भोजभतेर, पार्टीका कार्यक्रम, सिनेमा हल, मनोरञ्जनस्थल विद्यालय, विश्वविद्यालय जस्ता भीडभाड हुने स्थल भने अझै केही महिना बन्द नै गर्नु आवश्यक छ ।
अहिले पनि ठूलो समस्या भारतीय नाकामा छ । भारतबाट नेपाल छिरेका नेपाली नागरिकबाट नै कोरोना संक्रमण फैलिएको देखिएको हुँदा सीमा नाकामा पीसीआर परीक्षण बढाउने र क्वारेण्टिनहरुको व्यवस्थापन राम्ररी गर्ने, जुन स्थानीय तहका मानिस हुन् सोही स्थानीय तहसम्म सुरक्षित रुपमा पु¥याउने, स्थानीय तहमा पनि क्वारेण्टिन व्यवस्थापनमा उचित ध्यान पु¥याउने र होम क्वारेण्टिनको अवधारणालई प्रभावकारी बनाउन सके सीमा नाकाको खतरा न्यून हुन सक्छ ।
समस्या यतिबेला लकडाउन हुनु÷नहुनुभन्दा पनि संक्रमित परीक्षण न्यून हुनु हो भन्ने मत छ त्यसैले आरडीटी परीक्षण लाई थाती राखी पीसीआर परीक्षण बढाई संक्रमित पहिचान गर्ने कार्यमा अत्यन्त ढीलाई भएको छ । संक्रमित पहिचान नहुँदा एकबाट अर्कोमा सर्ने जोखिम बढ्दो छ । एकातिर लकडाउन गर्ने अर्कातिर क्वारेण्टिनको व्यवस्थापनमा ध्यान नदिने हो भने क्वारेण्टिनमै एक आपसमा रोग फैलने संभावना बढिरहेको छ ।
जोखिम अझै उच्च छ तर एकातिरको जोखिम रोक्ने नाममा अर्कातर्फको जोखिम बढाउने हो भने असुन्तुलन कायम हुन जान्छ । लकडाउनप्रतिको नागरिकहरुको वितृष्णा संवोधन गर्नु आवश्यक छ । विना योजनाको लकडाउनको निरन्तरता होइन आवश्यकता र औचित्यताको विश्लेषण गरी रणनीति बनाएर अगाडि बढ्नु आवश्यक छ । यथास्थितिमा लकडाउन कुनै व्यक्ति विशेषका लागि मात्र नभएर देशकै लागि प्रत्युत्पादक हुन्छ ।
मानिसहरु यतिबेला आफ्ना पेशा व्यवसाय खोल्ने मनस्थितिमा छन् । सामाजिक दुरी कायम गरी सरकारी तथा गैरसरकारी कार्यालय, व्यवसाय र दूरी कायम गरी गर्न सकिने निर्माण कार्य सञ्चालनमा ल्याउनुपर्छ । पेशा व्यवसाय गर्नासाथ कोरोना फैलने भए तरकारी व्यावसायीहरु, कृषि व्यावसायीरु, दूध व्यवसायीहरु, खाद्यान व्यवसायीहरु, सडकमा मर्मतसम्भारका मजदूरहरु, सवारीसाधन चालकहरु उहिले नै कोरोनाको शिकार भइसक्थे । समाजमा समेत उनीहरु मार्फत संक्रमण फैलिएर स्थिति भयावह हुने थियो । तर त्यस्तो होइन, भएको छैन । सुरक्षित तरिकाले काम गर्ने हो भने केही हुन्न भन्ने सन्देश यी व्यवसायीले दिइसकेका छन् । आफू पनि सुरक्षित हुने अनि अरु पनि सुरक्षित हुने गरी कार्यालय तथा व्यवसायिक कार्यलाई निरन्तरता दिने वातावरण सिर्जना गर्नु आवश्यक छ ।
हरेक मानिसलाई बाँच्ने रहर हुन्छ । त्यसैले शारीरिक दूरी कायम गर्दै सामजिक कार्यलाई निरन्तरता दिने जनचेतना अभियानको सुरुवात गरौँ र लकडाउनको प्रकृति परिवर्तन गरी लकडाउन खुकुलो बनाऊँ । लकडाउनको हाउगुजी सिर्जना गरेर समाजलाई बन्धक नबनाऊँ । अन्यथा सर्वसाधारणको वितृष्णा झनै बढ्दै जान्छ ।