पाेखरा । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिने निर्णय गरेको हो ।
विद्यालयको आन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण हुनेछ ।अब विद्यालयहरूले आन्तरिम मूल्यांकनको नम्बर पठाउनेछन् र, त्यसकै आधारमा परीक्षा वोर्डले ग्रेड निर्धारण गरेर परीक्षाफल सार्वजनिक गर्नेछ ।
शिक्षा मन्त्रालयले गठन गरेको सुझाव कार्यदलले आन्तरिक मूल्याङ्कन, प्रदेशगतरुपमा परीक्षा लिने वा विद्यमान कानूनलाई संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको एसइई परीक्षा लिने विकल्प दिएको थियो ।
एसइई परीक्षा गत चैत ६ गते हुने तय भएको थियो । तर अन्तिम समयमा चैत ५ गते साँझ कोभिड- १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिकले स्थगित गर्ने निर्णय गरेको थियो ।
यतिबेला देशभरका विभिन्न बिद्यालयमा क्वारेन्टाइन निर्माण गरिएका छन् ।बढ्दाे काेराेना संक्रमणकाे जाेखिम र लामाे समयकाे लकडाउनका कारण बिद्यार्थीमा परेकाे असरका कारण याे बर्ष एसईई परीक्षा नलिईएकाे बताईएकाे छ ।
परीक्षाका लागि चार लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका थिए भने एक हजार ९९५ परीक्षा केन्द्र निर्धारण गरिएको थियो ।