पोखरा ।गण्डकी प्रज्ञा प्रतिष्ठानको कूलपतिमा साहित्यकार एवं पत्रकार कमल पौडेल अथकले कार्ययोजना सहितको आवेदन दर्ता गराएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबार उनले ३१ औं नम्वरमा आवेदन दर्ता गराएका हुन् ।
मन्त्रालयले तोकेको सवै मापदण्ड पूरा गरी कार्ययोजना सहितको आवदेन दर्ता गराएको उनले जानकारी दिए ।अहिले मन्त्रालयले योग्यता तोकेर कूलपति, उपकूलपति र सदस्य सचिव र सदस्यहरुको आवेदन खुलाएको छ यो खुसीको कुरा हो उनले भने । कुनै पनि पदमा योग्यता संपरीक्षण गर्न पाउने अवस्था आउनु गर्वको कुरा हो उनले भने ।
उनले विगतमा शैक्षिक योग्यता तोकेर आवेदन नखुलाउँदा योग्य व्यक्तिहरु पछि परेको बताए । ‘अहिले योग्यता तोकेर आवेदन माग गरिएको छ त्यसैले मैले मेरो योग्यता क्षमता र अनुभव सहित कूलपति पदमा उमेद्वारी दिएको हुँ’उनले भने ।लोकगीत, संगीत र भाषा साहित्यको अलावा पत्रकारितालाई मूल पेशा बनाउँदै आएका अथकले देशको परिवर्तनसँगै लोकतन्त्रको रक्षाको लागि आफू सँधै लडिरहने बताए ।
पछिल्लो समयमा हरेक ठाउँमा एउटै व्यक्ति, आफन्त, नातेदार, चिने जानेको भनसुन गरि ज्याक फोर्स लगाएकाले मात्र मौका पाउँदा देशमा वेथिति मौलाएको उनले बताए । राजनीतिक नियुक्तिको नाउँमा योग्यता नभएका व्यक्ति हावी भएकोले वेथिति आएको भन्दै यसपटक योग्यता तोकेर मागिएको आवेदनमा आफू राजी हँदै आवेदन दिएको उनले बताए ।
प्रतिस्पर्धामा जो भएपनि योग्यताको कदर हुनेगरी आवेदन मागिएकोमा गण्डकी प्रदेश समाजिक विकास मन्त्रालयप्रति अथकले आभार व्यक्त गरे ।
वित्तशास्त्र, योजना, सामाजशास्त्र सहित पत्रकारिताका अध्येता समेत रहेका कमल पौडेल अथकले त्रिभुवन विश्वविद्यालयवाट स्नातकोत्तर तह उत्तीर्ण गरेका छन् । मार्केटिङ रिसर्च, र ग्लोवल मार्केटिङमा उनले स्नातकोत्तर उपाधी हाँसिल गरेका हुन् ।
आफू गण्डकी प्रदेशको कूलपति पदमा सिफारिस भएमा यहाँको लोकगीत, संगीत भाषा, कला, साहित्य, भेष, भूषा, सास्कृतिक सम्पदाको खोज, अनुसन्धान, विकास संरक्षण र प्रवद्र्धनमा जोड दिने उनले प्रतिपद्धता व्यक्त गरे ।
२०४८ सालबाट लोकगीत तथा संगीतको क्षेत्रमा लागेका अथकले २०५७ सालमा रोएकी चेली नामक गीत संग्रह प्रकाशित गरेका थिए । त्यसैगरी २०५८ सालमा जाउँलाबाटो भरतपुरको लोकदोहोरी एल्वम प्रकाशित गरेका थिए ।
२०६२ सालमा गजेको भोटो गजल संग्रह, २०६३ सालमा हाँडीका मकै हाइकू संग्रह, २०६४ सालमा सामन्तको मलामी गीत संग्रह, २०६५ सालमा बसुन्धरा खण्डकाव्य, २०६६ सालमा जनताको साशन गीत संग्रह, प्रेमको मधुमास गजल संग्रह २०६९ सालमा उल्टो वाँसुरी उपन्यास हुँदै भुन्टेको जन्तर, मुर्कट्टाको देश, विर्खे रजाइँ लगातका १९ वटा साहित्यीक कृति प्रकाशित छन् ।
सँगै २ वटा लोकदोहोरी एल्वम अनि साहित्यीक पत्रपत्रिकाहरुमा सयौं गीत, गजल, कविता, हाइकू, मुक्तक, लघुकथा प्रकाशन भएका छन् ।
हाल नेपाली लेखक संघ कास्कीका कार्यवहाक अध्यक्ष रहेका अथक, नेपाल प्रेस युनियन, नेपाल पत्रकार महासंघ, नेपाल टेड युनियन, उपभोक्ता मञ्च लगायतका संघ संस्थामा आवद्ध छन् ।
गजल सन्ध्या पोखराले प्रदान गर्दै आएको गजल प्रतिभा पुरस्कार २०६८ बाट उनी यसअघि नै पुरस्कृत भइसकेका छन् । यस वाहेक विभिन्न संघ संस्थाद्धारा दर्जनौ पुरस्कार उनले प्राप्त गरेका छन् ।
उनले २०४० देखि २०४८ सालसम्म तत्कालिन श्री राष्ट्रिय निमावि बिचारी चौतारा स्याङजाबाट आधारभूत तहको शिक्षा हाँसिल गरेका थिए । २०५३ सालमा स्याङ्जाको जनप्रदीप माध्यमिक विद्यालयवाट प्रवेशीका परीक्षा एसएलसी उत्तीर्ण गरेका उनले २०५६ सालमा पर्वतको ठूलीपोखरीमा रहेको जनता सुदर्शन बहुमुखी क्याम्पसवाट प्रमाणपत्र तह उत्तीर्ण गरेका थिए ।
२०५४ सालमा सो क्याम्पसको स्ववियु उपसभापति समेत भएका अथक २०५७ सालमा पोखराको पृथ्वीनारायण क्याम्पसमा स्नातक तहमा भर्ना भएका थिए । उनले स्नतक र स्नातकोत्तर तह सोही क्याम्पसबाट उत्तीर्ण गरेको बताए ।
हाल रेडियो सराङकोटका समाचार प्रमुख रहेका उनी समयदृष्टि डटकमका प्रधान सम्पादक हुन् ।