कास्की ।कास्कीका विरेठाटी घान्द्रुक,लुम्ले लान्द्रुक र काँहुखाेला ताङ्तिङ सडकमा रातिको समयमा सवारी साधन संचालनमा राेक लगाईएकाे छ।
साेमबार कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माकाे अध्यक्षतामा जिल्ला समन्वय समिति प्रमुख, स्थानीय तहका प्रमुख तथा पदाधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु, यातायात व्यवसायीहरु लगायतका सरोकारवाला निकाय/संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुको उपस्थितिमा बसेको वैठकबाट साे निर्णय भएकाे कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिनुभयाे।
निर्णय अनुसार गाडी चलाउन रोकिएको अवधिसम्म अत्यावश्यकबाहेकका सबै गाडीलाई रोकिनेछ ।
यस वर्षको मनसुन सक्रिय अवस्थामा रहेकोले वर्षातको समयमा सुरक्षा संयमता अपनाउन र बाढी, पहिरोको कारणबाट यात्रु तथा सवारी साधनहरुमा हुनसक्ने सम्भाव्य क्षति न्यूनीकरणका लागि सतर्कता अपनाउन बुधबार देखि लागू हुने गरी १५ दिनको लागि विरेठाँटी देखि घान्द्रुक, विरेठाँटी देखि उल्लेरी र लुम्ले देखि लान्द्रुक जाने सवारी साधनहरु साँझ ५:०० बजेभित्र प्रस्थानविन्दुबाट गन्तव्यस्थलको लागि छुटिसक्नुपर्ने र घान्द्रुक देखि विरेठाँटी, उल्लेरी देखि विरेठाँटी र लान्द्रुक देखि लुम्ले जाने सवारी साधनहरु बिहान ५:०० बजेपछि प्रस्थानविन्दुबाट गन्तव्यस्थलको लागि छुट्न पाउने व्यवस्था गरिएकाे छ ।
त्यसैगरी काँहुखोला देखि ताङ्तिङ जाने सवारी साधनहरु साँझ ४:३० बजेभित्र प्रस्थानविन्दुबाट गन्तव्यस्थलको लागि छुटिसक्नुपर्ने र ताङ्तिङ देखि काँहुखोला जाने सवारी साधनहरु बिहान ५:०० बजेपछि प्रस्थानविन्दुबाट गन्तव्यस्थलको लागि छुट्न पाउने व्यवस्था गरिएकाे कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पाेखरा पाेष्टलाई जानकारी दिनुभयो ।