अछाममा दुई दिनमा दुईवटा सडक दुर्घटना भएका छन् । बुधबार दिउँसो मङ्गलसेन–४ कैलाशखोला नजिक ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु र ४० घाइते भएका छन् भने बिहीबार राति २ बजे बान्नीगढी–४ कैलाशखोला नजिकै भएको जिप दुर्घटनामा तीन घाइते भएका छन् ।
जिल्लाको मङ्गलसेनबाट जयगढतर्फ गइरहेको से१ज ८०४ नं को जिप राति २ बजे दुर्घटनामा परेको थियो । उक्त घटनामा घाइतेमध्ये मङ्गलसेन नगरपालिका–४ की १६ वर्षीया झुमा आउजीको टाउकोमा गम्भीर चोट लागेको छ भने मङ्गलसेन–८ का २० वर्षीय खगेन्द्र बिकको पनि टाउको र हातखुट्टामा चोट लागेकाले बयालपाटा अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइते मङ्गलसेन–५ का २९ वर्षीय राजेश भाट भने घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।
जिपमा चालकसहित चार जना रहेको र चालक फरार रहेको अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले बताउनुभयो ।
यसअघि बुधबार दिउँसो कैलाशखोला नजिकै भएको ट्याक्टर दुर्घटनाका ४ जना घाइतेलाई बयालपाटा अस्पतालमा उपचार हुन नसकेपछि कोहलपुर मेडिकल कलेज रेफर गरिएको छ । दुर्घटनाबाट गम्भीर घाइते मङ्गलसेन–४ की ३५ वर्षीया कमला केसी, ३० वर्षीय नृप केसी, ३५ वर्षीया मोतिकला धामी र १७ वर्षीया पवित्रा केसीलाई कोहलपुर रेफर गरिएको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिनुभयो ।
कोजाग्रत पूर्णिमाको दिन बान्नीगढी–४ तिमिल्सैनमा लाग्ने दशैँमेला हेर्न गएका ४० जना उक्त ट्याक्टर दुर्घटनामा परी घाइते भएका थिए भने मङ्गलसेन–४ की ३५ वर्षीया मैना धामीको घटनास्थलमै मुत्यु भएको थियो ।
ट्याक्टरमा ओभरलोड भएकै कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । फरार रहेका ट्याक्टर चालक मङ्गलसेन–४ का हेमराज केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।