विवाह पञ्चमी समारोहमा जनकपुर आउन लागेका भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सुरक्षाका लागि भारतबाट बुलेटप्रुफ गाडी आइसकेको छ। यस बाहकेका विशेष सुरक्षामा ज्यामरसहित सात वटा अन्य गाडी भित्र्याइएका छन्।
सुरक्षा प्रयोजनका लागि भारतबाट विशेष सुरक्षा टोली पनि आइसकेको प्रदेश नम्बर २ का प्रहरी प्रमुख डिआइजी हरिबहादुर पालले जानकारी दिए।
यस्तै, सुरक्षालाई मध्यनजर गर्दै अत्याधुनिक र्यापिड कम्युनिकेसन सिस्टम (आरसिएस) को प्रयोग गर्न लागेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। अत्यधिक भिडभाड हुने अनुमान गर्दै सुरक्षा व्यवस्थाका लागि ड्रोन क्यामेराको प्रयोग गरिने भएको छ।
आरसिएस प्रविधि प्रयोगका लागि परीक्षणसमेत गरिएको डिआइजी पालले जानकारी दिए। उनका अनुसार सुरक्षा निकायका प्रमुखहरु प्रदेश प्रहरी कार्यालयमै बसेर आरसिएस प्रविधिमार्फत सम्पूर्ण जानकारी लिनेछन्।
बाह्रबिघा (रंगभूमि) मैदानमा नेपाल प्रहरीले विशेष क्षमता भएको दुई वटा ड्रोन क्यामेराको परीक्षण गरी सोही माध्यमबाट सुरक्षा अवस्थाको जानकारी लिने तयारी गरिएको छ।
विमानस्थलको सुरक्षाको प्रबन्ध जिल्ला सुरक्षा समिति अनुसार नै प्रबन्ध गरिएको छ। विमानस्थलमा आपतकालीन सेवाका लागि सिमराबाट एउटा ‘फायर भेहिकल’समेत मगाउने काम भइरहेको विमानस्थलका प्रमुख सन्तोष ढकालले जानकारी दिए।
यसैगरी योगी आउँदा कारगेडका लागि व्यवस्थापन चुस्त पारिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रवीणराज कँडेलले बताएका छन्। ‘बुलेटप्रुफ एउटा कारगेड भारत सरकारले उपलब्ध गराएको छ भने अर्को बुलेटप्रुफ नेपाल सरकारले समेत उपलब्ध गराउने छ,’ सिडिओ कँडेलले भने।
मुख्यमन्त्री आदित्यनाथले भोलि जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम तय गरिएको छ। पूजा समापनपछि प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले ओयाजना गरेको दिवाभोजमा सरिक हुन उनी मुख्यमन्त्री निवास मधेस भवन जानेछन्।
दिवाभोज समापनपछि मुख्यमन्त्री आदित्यनाथ रंगभूमि मैदानमा आयोजना हुने सीतारामको विवाहको स्वयंवरमा सहभागी हुने जानकी मन्दिर व्यवस्थापन समितिले जनाएको छ।
मुख्यमन्त्रीको सुरक्षाका लागि आजै रातिदेखी लागू हुने गरी रुट निर्धारण गरिएको छ।
अहिले जनकपुर नगरभित्र मात्रै १ सय ४२ जना ट्राफिक प्रहरी खटिएको एसपी किरण बज्राचार्यले जानकारी दिए। बज्राचार्यका अनुसार आजै रातिदेखि नगरभित्र साना तथा ठूला सवारीसाधन लैजान पाइँदैन।
नगरभित्र आकस्मिक सेवाका सवारीसाधन बाहेकलाई प्रवेश पास अनिवार्य गरिएको छ। योगी आउने रुटमा भोलि सवारीसाधन निषेध गरिएको बज्राचार्यले जानकारी दिए।
योगी आदित्यनाथका लागि जनकपुरको एयरपोर्टदेखि मुरली चोक (विद्यापति चोक), विशहरा चोक, कदम चोक, भानु चोक हुँदै जनक चोकबाट जानकी मन्दिर जाने बाटो निर्धारण गरिएको छ।
त्यसपछि, जानकी मन्दिरबाट प्रदेश प्रहरी कार्यालय, थापा चोक, सहिद चोक, जचुकाली, थापा चोक, प्रदेश प्रहरी कार्यालय हुँदै उत्तर गेटबाट रंगभूमि मैदानसम्म विशेष रुट बनाइएको छ।