मिश्रको संयोजकत्वमा ‘जनसरोकार पत्रकार समूह’ गठन

0
791

राष्ट्रिय समाचार समिति (रासस)का उपसमाचारदता पूर्णप्रसाद मिश्रको संयोजकत्वमा ‘जनसरोकार पत्रकारिता समूह’ गठन गरिएको छ ।

लोकतन्त्र, मानवअधिकार, अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रताको क्षेत्रका काम गर्दै आइरहेको नागरिक संस्था फ्रिडम फोरमको पहलमा उक्त समूह गठन गरिएको हो ।

विनाशकारी भूकम्पपछि जनसरोकारको विषयमा समाचार सङ्कलन गर्दै आएका सिन्धुपाल्चोक, नुवाकोट, सिन्धुली, ओखरढुङ्गा, गोरखा, धादिङ, काठमाडौँ लगायतका सञ्चारकर्मीको भेलाले मिश्रको नेतृत्वमा नौ सदस्यीय जनसरोकार पत्रकारिता समूह गठन गरेको हो । उक्त समूहमा प्रारम्भिक चरणमा जनसरोकारका विषयमा कलम चलाउँदै आउनुभएका सञ्चारकर्मी सदस्य रहने व्यवस्था गरिएको सचिव नगेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

फ्रिडम फोरमले पछिल्लो डेढ वर्षदेखि जनसरोकारका विषयमा समाचार खेलनका लागि विज्ञ समूहद्वारा विभिन्न जिल्लामा सञ्चारकर्मीहरुका लागि प्रशिक्षण सञ्चालन गर्दै आएको छ । प्रशिक्षणपछि जनसरोकारका विषयमा समाचार लेखन र विषय छनोटमा सहजता भएको सहभागीहरुले बताएका छन् ।

समितिको उपाध्यक्षमा अन्नपूर्ण पोस्टका शिव उप्रेती, महासचिवमा ओख्रेनी साप्ताहिककी दुर्गा आचार्य, सचिवमा कान्तिपुरका नगेन्द्र अधिकारी र कोषाध्यक्षमा नागरिक दैनिकका शिवहरि घिमिरे रहनुभएको छ ।

त्यसैगरी सदस्यमा नागरिक दैनिकका ध्रुव दंगाल, राससका आदित्य दाहाल, दि हिमालयन टाइम्सका जीवन शर्मा, बिबिसीका शक्तिमाया तामाङ, हिमालयन टाइम्सका रमा लुइँटेल, ओख्रेनी साप्ताहिकका प्रमुख समाचारदाता किशोर बुढाथोकी, नागरिक दैनिकका सिन्धुली समाचारदाता अनिल भण्डारी, पुष्कर थापा हुनुहुन्छ । समूहले पुनःनिर्माणका क्षेत्रमा कलम चलाउदै आएका सञ्चारकर्मीको हकहितमा काम गर्नेछ ।

सो अवसरमा फ्रिडम फोरमका प्रमुख कार्यकारी तारानाथ दाहालले समूहको सचिवालय व्यवस्थापनका लागि फ्रिडम फोरमका तर्फबाट केही रकम उपलब्ध गराउने बताउनुभयो ।