गल्छी–रसुवागढी सडक कालोपत्र

उपत्यकामा दिउँसो टिपर सञ्चालन

काठमाडौँ उपत्यकाभित्र बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ट्रक तथा टिपर सञ्चालन गर्न पाइने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतामा मङ्गलबार बसेको काठमाडौँ, भक्तपुर र ललितपुरका सुरक्षा निकायका प्रमुख एवं पदाधिकारीको बैठकले चालक अनुमतिपत्र, ब्लूबुक प्रतिलिपी, हालसालै खिचिएको फोटोसहित जिल्ला प्रशासन कार्यालयलाई निवेदन दिने चालकलाई बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ट्रक तथा टिपर सञ्चालन गर्न दिने निर्णय गरेको हो । गत साउनदेखि बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म सञ्चालन हुँदै आएको ट्रक तथा टिपर आजदेखि कात्तिक मसान्तसम्मलाई दुई घण्टा बढाएर साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख बसन्तकुमार पन्तले जानकारी दिनुभयो । बैठकले तिहार, नेपाल संवत्, छठलगायतका चाडपर्वलाई लक्ष्य गरी सुरक्षालाई थप प्रभावकारी बनाउने, देउसीभैलो कार्यक्रमलाई १० बजेसम्म सञ्चालन गर्न दिने, पटकालगायतका वस्तुलाई पूर्णतया नियन्त्रण गर्ने निर्णयसमेत गरेको छ ।

अमेरिकामा मृत्युदण्ड

  वासिङ्टन,  रासस एएफपी अमेरिकाको साउथ डकोटा राज्यमा कारागारका सुरक्षागार्डको हत्यामा दोषी पाइएका ५६ वर्षीय एकजना अमेरिकीलाई घातक सुई लगाएर सोमबार मृत्युदण्ड दिइएको छ । रोड्नी बर्गेट नामका ती व्यक्तिले सन् २०१२ मा जेल तोडेर भाग्ने असफल प्रयासमा जेलका एकजना सुरक्षागार्डको हत्या गरेका थिए । उनीमाथि दुईवटा हत्या प्रयास र एउटा बलात्कारमा समेत दोषी पाइएको थियो । उनका दाजुलाई समेत कार चोरी गर्नेक्रममा एकजनाको हत्या गरेको दोषी प्रमाणित भएपछि १८ वर्षअघि ओक्लाहोमा राज्यमा मृत्युदण्ड दिइएको थियो । अदालती सुनुवाईका क्रममा बर्गेटले आफू मृत्युदण्डको सजाय पाउन योग्य रहेको बताएका थिए । तैपनि अपिलका कारण उनको सजायमा ढिलाई भएको थियो । तर सन् २०१६ मा उनले अपिल फिर्ता लिएका थिए । उनले अपिल फिर्ता लिनेक्रममा जेलको कठघरामा अरु ३० वर्ष बिताउन नचाहेको बताएका थिए । सन् १९७६ मा साउथ डकोटा राज्यमा मृत्युदण्ड सम्बन्धी सजाय दिने कानुन पुनः जीवित गरिएपछि राज्यमा यो चौथो मृत्युदण्डको सजाय हो । उनका दाजु रोजर बर्गेटलाई एक शिक्षकको हत्यामा दोषी ठहर गरी ३९ वर्षको उमेरमा ओक्लाहोमामा सन् २००० मा मृत्युदण्ड दिइएको थियो । अमेरिकी सञ्चार माध्यमहरुले दुवै दाजुभाइ मदिरा सेवन र हिंसाको पृष्ठभूमिमा हुर्किएको बताएका छन् । –––

लागुऔषधसहित दुई जना पक्राउ

परासी, पश्चिम नवलपरासीको बर्दघाटबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले वडा नं ९ भानुनगरमा जाँच गर्ने क्रममा युपी५६एए १८४१ नं को भारतीय मोटरसाइकलमा सवार सरावल गाउँपालिका–२ बस्ने २३ वर्षीय मनोज यादव र सोही ठाउँमा बस्ने २८ वर्षीय मुन्नीप्रसाद केवटबाट लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । उनीहरुको साथबाट स्पास्मो प्रोक्सिभन ८० क्याप्सुल, नाइट्रोभेट ४४७ ट्याबलेट र फेन्सिड्रिल एक सय मिलीलिटरको ५० थान फेला परेको छ । पक्राउ परेका दुवै जनालाई लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसान्धान भइरहेको प्रहरीले जनाएको छ । –––