निर्मला हत्याको अनुसन्धानमा बाधा नर्गेने अबस्था सृजना गर आयोग
काठमाडौं । । राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकार एवं गृहमन्त्रालयलाई आठ बुँदे निर्देशन जारी गर्दै अनुसन्धानमा कसैले बाधा नगर्ने अवस्था सिर्जना गर्न भनेको छ । आयोगले सरकारलाई कञ्चनपुरकी निर्मला हत्याको अनुसन्धानका क्रममा बाधा पार्नेलाई रोक्न भनेको छ।
निर्देशन गरिएको बुँदा ३ मा भनिएको छ, ‘यस्ता किसिमका जघन्य अपराधहरु घटिसकेपछि निलम्ब नगरी यथासक्य शीघ्र अनुसन्धान सम्पन्न गराई दोषी पत्ता लगाउन र पीडितलाई न्याय दिलाउन अनुसन्धानमा स्थानीय, नागरिक समाज, सञ्चारमाध्यम तथा स्वयं पीडित पक्षको समेत साथ सहयोग आवश्यक हुने हुँदा अनुसन्धानमा बाधा पर्ने गरी कोही कसैले पनि अनावश्यक दबाब सृर्जना गर्ने परिस्थिति सृजना हुन नदिन ।’
यस्तै, आयोगले यही घटनाकाबीच प्रहरीको गोली लागि मृत्यु भएका सन्नी खुनामाथि गोली प्रहार गर्ने प्रहरीको पहिचान गरी कानून बमोजिम कारबाही गर्न तथा यो घटनामा भाइते भएकाको प्रभावकारी निःशुल्क उपचार गर्न भनि निर्देशन गरेको छ । आयोगको ८ बुँदे निर्देशनमा गृहमन्त्रालयलाई बोधार्थ दिइएको छ ।
नेविसङ्घमा ३२ वर्षे उमेर हद पारित
काठमाडौँ, २२ असोज नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घमा ३२ वर्षे उमेर हद लाग्ने भएको छ ।
आइतबार राति सम्पन्न काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकले ३२ वर्षे उमेर सम्बन्धी सो व्यवस्था कायम रहने सङ्घको विधानको व्यवस्था पारित गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । नेविसङ्घमा ३२ वर्षे उमेर हदको व्यवस्था ११औँ महाधिवेशनदेखि कायम छ । नेविसङ्घमा प्रमुख विवादका रूपमा देखिएको सो व्यवस्था टुङ्गिएसँगै सङ्घको १२औँ महाधिवेशन गर्ने बाटो खुलेको छ । नेविसङ्घको वर्तमान कार्यसमितिको कार्यकाल गत भदौमा समाप्त भई तीन महीना समयावधि थपिएको छ । काङ्ग्रेसमा संस्थापन पक्षको कायम राख्नुपर्ने र संस्थापन इतर पक्षको उमेर सम्बन्धी सो व्यवस्था हटाउनुपर्छ भन्ने अडान थियो ।
बैठकले सङ्घको विधानको उक्त व्यवस्था पारित गरेपछि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालगायत नेताले निर्णयप्रति असहमति जनाउनुभएको थियो । सङ्घको संशोधित विधानबारेमा काङ्ग्रेसको आगामी असोज २५ गते बस्ने बैठकमा थप छलफल गरी पारित हुने प्रवक्ता शर्माले जानकारी दिनुभयो ।
दिउँसो ३ बजेदेखि राति झण्डै ११ बजेसम्म बसेको बैठकले अन्य समसामयिक जनजीविकाका विषयमा समेत निर्णय गरेको छ । बैठकले नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिद प्रक्रियामा देखिएको अनियमितताका सम्बन्धमा भइरहेको छानबिनलाई शीघ्र टुङ्गोमा पु¥याई दोषीलाई कानूनी कारवाही गर्न माग गर्ने निर्णय गरेको छ ।
काङ्ग्रेसले बूढीगण्डकी जलविद्युत् आयोजनाका सम्बन्धमा काङ्ग्रेस नेतृत्वको तत्कालीन सरकारको पालामा गठित समितिले गरेको अध्ययन प्रतिवेदनका आधारमा स्वदेशी पूँजीमै बनाउनुपर्ने माग गरेको छ । बैठकले बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने माग गर्दै आवश्यकभन्दा अन्य रुख कटानको प्रस्तावमा भने विमति जनाएको उहाँले जानकारी दिनुभयो ।
मुलुकभर महिला हिंसा र बलात्कारका घटना बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै शान्ति, सुरक्षा सुदृढ बनाउन बैठकले सरकारसँग माग गरेको छ । महत्वपूर्ण चाडपर्वको मुखमा बजारमा चर्को मूल्यवृद्धि भएको भन्दै काङ्ग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । यस सम्बन्धमा काङ्ग्रेसले ७७ जिल्लामा जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने प्रस्तावसमेत पारित गरेको छ ।
–––
निर्मला हत्या प्रकरणः अनुसन्धान जारी,उपलब्धि शून्य
भीमदत्तनगर, कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सुक्ष्म अनुसन्धानमा खटिएको प्रहरीले हालसम्म घटनामा संलग्न दोषीलाई कारवाहीको दायरामा ल्याउनसकेको छैन ।
गत साउन १० गते साथीको घरबाट स्कूलको गृहकार्य सकेर घर जाँदै गरेकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो ।
मुलुककै ध्यान कञ्चनपुरमा केन्द्रित हुनुका साथै सबैतिर निर्मलाका हत्यारालाई कारवाहीको माग गर्दै विरोध एवं दवाव कार्यक्रमहरू भइरहेका बेला घटनाको अनुसन्धानमा खटिएको प्रहरीको अनुसन्धान टोली, प्रहरीकै केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)को टोलीले अनुसन्धान तीव्र पारे पनि अभियुक्त नजिक भने पुग्नसकेको छैन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाको नेतृत्वमा रहेको अनुसन्धान टोली पनि लामो समयदेखि घटनालाई विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।
त्यसैगरी घटना अनुसन्धानकै लागि सिआइबीका वरिष्ठ प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवाली केही साताअघि कञ्चनपुरमै रहेर अनुसन्धान गरिरहेका छन् । तर घटना भएको अढाइ महिना बितिसक्दा पनि प्रहरी अनुसन्धान उपलब्धिबिहीन रहेको प्रहरी स्रोतले जनाएको छ ।
सिआइबीले घटनामा संलग्न हुनसक्ने आशङ्का भएका करीब एक दर्जन व्यक्तिमाथि सुक्ष्म अनुसन्धान गरिरहेको प्रहरी स्रोतले जनाएको छ । त्यसका साथै राष्ट्रिय अनुसन्धानलगायत प्रहरीभित्रै विभिन्न टोली बनाएर केन्द्रबाट परिचालनसमेत गरिएको छ ।
“घटनाको सुरुवातमै कञ्चनपुर प्रहरी नेतृत्वबाट भएको गम्भीर लापरवाहीकै कारण अहिलेसम्म हत्यारासम्म पुग्न सकस भएको हो ।” प्रहरी स्रोतले भन्यो, “शव भेटिएका बेला गम्भीरताका साथ अुनसन्धान थालेको भए अहिले यस्तो अवस्था नै आउने थिएन ।”
सुरुवातकै त्रूटीका कारण अहिले अनुसन्धानमा समस्या भएको अनुसन्धान अधिकारीको भनाइ छ । घटनाको अनुसन्धानमा खटिएका प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयमै झिकाएर प्रहरी नायब महानिरीक्षक धिरु बस्नेत नेतृत्वको टोलीले घटनाबारे छानबिन गरिरहेको छ । केही समयअघि प्रहरी प्रधान कार्यालयबाटै घटना अनुसन्धानको समन्वयकारी भूमिका निभाउन प्रहरी उपरीक्षक दुर्गासिंह चन्द भीमदत्तनगर आइपुग्नुभएको छ ।
कञ्चनपुरमा महिला तथा विभिन्न दवाव समूहले निर्मलाको हत्यारा सार्वजनिक गर्न दिनहुँ प्रर्दशन गरिरहेका छन् । आन्दोलनरत यहाँका महिला अधिकारकर्मीलाई आइतबार नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले पनि ऐक्यवद्धता जनाउनुभयो । उहाँले निर्मलाले न्याय नपाएसम्म दवाव दिनुपर्ने आवश्यकता औँल्याउँदै आफू र आफ्नो पार्टी त्यसका निम्ति लागिरहने बताउनुभयो ।
घटनामा संलग्न भन्दै यसअघि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख (हाल निलम्वित) प्रहरी उपरीक्षक डिल्लीराज विष्टले सार्वजनिक गरेका भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टको डीएनए रिपोर्ट नमिलेपछि उनी साधारण तारेखमा रिहा भएका थिए । घटनामा संलग्नताको आरोप स्थानीयवासीले लगाएपछि केही समयअघि प्रहरी उपरीक्षक विष्ट, उहाँका छोरा किरणराज विष्ट र भीमदत्तनगरकै युवा आयुश विष्टको समेत डीएनए परीक्षण गरिएको थियो । तीनै जनाको रिपोर्ट नमिलेपछि घटनाको अनुसन्धान थप जटिल बन्दै गएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कुवेर कडायतले घटनाको अनुसन्धान भइरहेको बताउँदै केही तथ्य फेला नपरेको बताउनुभयो । “हामी सुक्ष्म रूपमा दिनरात खटिएर लागेका छौँ ।” कडायतले भन्नुभयो, “अनुसन्धानमा केही नयाँ तथ्य आएको छैन ।”
टिपर दुर्घटनामा एकको मृत्यु, दुई घाइते
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ घिक्केबाट जलवीरेतर्फ आउँदै गरेको बा४ख ३३३१ नं को टिपर हिजो बेलुका दुर्घटना हुँदा बलेफी गापा–१ सिम्ले ढाडे निवासी ६९ वर्षीय मोहन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा बाह्रबिसे नपा–७ निवासी चालक २२ वर्षीय रमेश श्रेष्ठ र सहचालक काभ्रे पाँचखाल नपा–५ का २४ वर्षीय प्रवीण बानियाँ घाइते भएका छन् । उनीहरु दुवैको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
ढुङ्गा लोड गरिएको उक्त टिपर सडक भासिएर करीब २०० मिटर तल घेलुङ खोलामा खसेको प्रहरीले जनाएको छ ।