रेन्डी विलियम बेरी नेपालका लागि नयाँ अमेरिकी राजदूत

२७ भाद्र २०७५, बुधबार

अमेरिका– रेन्डी विलियम बेरी नेपालका लागि नयाँ अमेरिकी राजदूत नियुक्त भएका छन् ।

गत साता अमेरिकाको सिनेटमा भएको सुनुवाइमा बेरीको नाम नेपालको राजदूतका लागि अनुमोदन भएको हो ।

गत मे १० तारिखमा बेरीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको राजदूतमा सिफारिस गरेका थिए । दक्षिण एसिया मामलाका जानकार बेरी अमेरिकाको विदेश मन्त्रालयको प्रजातन्त्र मानवअधिकार र श्रम विभागको उपनिर्देशकका रूपमा कार्यरत थिए ।

बेरीले अमेरिकी सरकारका विभिन्न निकायमा बसेर २५ वर्ष लामो सेवा गरिसकेको विदेश मन्त्रालयले जारी गरेको न्युज बुलेटिनमा उल्लेख छ ।

उनले न्यूजिल्याण्डमा सन् २००९ देखि २०१२ , नेदरल्याण्डमा काउन्सलर जनरलको रूपमा २०१२ देखि २०१५ काम गरिसकेका छन् । यस अघि नेपालमा उनले २००७ देखि २००९ सम्म राजदूत पछिको दोस्रो बरियातामा रहेर काम गरिसकेका छन् ।

बेरी नेपाल र दक्षिण एसियाली मामलामा राम्रो जानकार मानिन्छन् । कूटनीतिक सेवामा राम्रो काम गरेबापत उनले उत्कृष्ट र प्रतिष्ठित सम्मान समेत पाएका छन् । बेरी स्पेनिस र अरविक भाषामा राम्रो दख्खल राख्छन् ।

रेन्डी विलियम बेरी अमेरिकाको मध्ये पश्चिम राज्य कोलोराडोको हिलसाइडमा सन् १९६५मा जन्मिएका हुन् ।

Leave a Reply