काँग्रेस नेतृत्व र विधान मस्यौदा समितिबीच छलफल

२८ भाद्र २०७५, बिहीबार

काठमाडौं– संघीय ढाँचा अनुसार विधान संशोधन मस्यौंदा तयार पार्ने जिम्मेवारी पाएको नेपाली काँग्रेस विधान संशोधन मस्यौंदा समितिले पार्टी नेतृत्वसँग पनि छलफल गरेको छ । समिति अन्तर्गतका तीन उपसमितिले तयार पारेको विधान संशोधन प्रारम्भिक मस्यौदामाथि समितिले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी नेतृत्वसँग पनि छलफल गरेको हो ।

समिति अन्तरगतको उपसमितिहरुले तयार पारेका विधान संशोधन मस्यौंदामाथि पार्टी पदाधिकारी, पार्टी संसदीय दलका पदाधिकारी र पूर्व पदाधिकारीहरुबीच पनि आवश्यक छलफल गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

आम जनताको भावनालाई प्रतिनिधित्व हुनेगरी पार्टीको विधान तयार पार्ने कामलाई समितिले तीव्रता दिएको पनि उनले बताए ।  महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान संशोधन मस्यौंदा समितिले डा. मिनेन्द्र रिजाल, मानबहादुर विश्वकर्मा र दिलेन्द्रप्रसाद बडु नेतृत्वको ३ वटा उपसमिति गठन गरेको थियो ।

सोही उपसमितिका नेताहरुले आफूले तयार पारेको प्रारम्भिक मस्यौदा नेतृत्वलाई जानकारी गराएका हुन् ।  विधानमा आवश्यक परिमार्जन गर्न समितिले सबै प्रदेश तहमा पनि छलफल गर्नेगरी मिति र स्थान तय गर्ने योजना पनि बनाएको छ ।

बिहिबारसम्म समितिले विधानको संशोधन मस्यौदामाथि सबै प्रदेशबाट रायसुझाव लिनेगरी छलफल गर्न मिति र स्थान तय गर्ने पनि प्रवक्ता शर्माले जानकारी दिए ।  समितिले तयार पारेको प्रतिवेदनलाई केन्द्रिय कार्य समितिले अनुमोदन गरेपछि मंसीरमा हुने काँग्रेस महासमिति बैठकमा त्यसलाई प्रस्तुत गरिनेछ ।

काँग्रेस प्रवक्ता शर्माले पार्टीलाई आधुनिक पार्टीको रुपमा विकास गर्नेगरी विधान तयार पार्ने कामलाई अघि बढाएको पनि जानकारी दिए । समितिले संशोसित विधानको मस्यौंदा बनाउन देशभरका पार्टी समितिहरुको सुझाव पनि लिईसकेको छ ।

Leave a Reply