जसिता र प्रदीपको लभ स्टेशन ५ असोजबाट फ्लोरमा

२८ भाद्र २०७५, बिहीबार

काठमाडौं– ‘लिलीविली’ जोडी प्रदीप खड्का र जसिता गुरुङको अभिनय रहने चलचित्र ‘लभ स्टेशन’ आगामी ५ असोजबाट छायांकनका लागि फ्लोरमा निस्कने भएको छ । निर्माण ब्यानर काफिया फिल्मस्ले सोमबार राजधानीमा एक कार्यक्रम गर्दै  चलचित्रको बिभिन्न पक्षबारे जानकारी दिएको हो ।

दार्जिलिङ देखि छायाँकन सुरु गरिने यो चलचित्रको निर्देशन उज्ज्वल घिमिरेले गर्दैछन् । कार्यक्रममा चलचित्रमा आवद्ध कलाकार तथा प्राबिधिकको जानकारी समेत दिइयो ।  प्रदीप र जसितासँगै मिस सिलगुढी श्रद्धा क्षत्री, निरुता सिंह, सरोज खनाल, प्रकाश शाह लगायतको अभिनय रहने चलचित्रको नाम ठाउँको आधारमा जुर्याइएको निर्देशक घिमिरेले बताए । ‘प्रदीप र जसिताको जोडी चलचित्रका लागि उपयुक्त भएकोले यो चलचित्र बन्न लागेको हो’ घिमिरेले थपे ‘चलचित्रको कथा पनि मेरै हो ।’ चलचित्र आफ्नो ड्रिम्स् प्रोजेक्सट भएको घिमिरेले खुलाए ।

स्क्रिप्ट राम्रो र सिनियर निर्देशक घिमिरेसँग काम गर्न पाउँदा आफु खुसी रहेको अभिनेता प्रदीपले बताए । उनले पारिवारिक प्रेमकथामा आधारित ‘लभ स्टेशन’ बिगतका चलचित्र भन्दा उत्कृष्ट बन्ने बताए । अभिनेत्री जसिताले पनि उज्ज्वल घिमिरे आफ्नै सफल निर्देशक भएकोले उहाँसँग काम गर्ने चाहना पहिले देखिनै रहेको बताइन् । उनले काफिया फिल्मस्ले फेरि आफुलाई प्रदीपको जोडीको रुपमा चयन गरेकोमा हर्सित रहेको सुनाइन् ।

गोविन्द शाही प्रस्तुतकर्ता रहेको चलचित्र दार्जिलिङपछि कालिङपोङ, सिक्किम, फिक्कल लगायतका स्थानमा छायाँकन हुनेछ । ४५ दिन छायाँकन अबधि तय गरिएको चलचित्र आगामी फागुनको अन्तिम साता प्रदर्शनमा आउने निर्माता गोबिन्द शाहीले बताए ।

आलोक शुक्लाको छायाँकन रहने लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहने छ । दार्जिलिङका उमेश थापा लाईन प्रोड्युसर रहेको यो चलचित्रका निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।  लभ स्टेशनलाई काफिया फिल्म्स्को व्यानरमा काफिया शाही (क्रिसु) र कविर बिक्रम शाहीले निर्माण गर्न लागेका हुन् ।

Leave a Reply