सीपेकको सुरक्षामा कुनै सम्झौता हुँदैनः पाकिस्तानी सेना प्रमुख

२८ भाद्र २०७५, बिहीबार

इस्लामावाद– पाकिस्तानका सेनाप्रमुख जनरल कमार जाभेद बजवाले चीन–पाकिस्तान आर्थिक करिडोर (सीपेक) पाकिस्तानको आर्थिक भविष्यसँग जोडिएको बताएका छन् । पाकिस्तानका लागि चिनियाँ राजदूतसँगको भेटमा सेनाप्रमुख बजवाले सीपेकको सुरक्षामा कुनै सम्झौता नहुने स्पष्ट पारेका छन् ।

बेलायतस्थित फाइनान्सियल टाइम्सले पाकिस्तानको सत्तारुढ दल पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) ले चीन–पाकिस्तान आर्थिक करिडोरका विषयमा चीनसँग नयाँ सम्झौता गर्ने तयारी गरेको समाचार प्रकाशन गरेको थियो ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ६२ अर्ब डलरको सीपेक परियोजनाका बारेमा समीक्षा गर्न नौ सदस्यीय समिति पनि हालैमात्र गठन गरेका छन् । यो परियोजनाले चिनियाँ कम्पनीहरुलाई बढी लाभ पुर्याएको आक्षेप लाग्दै आएको छ ।

यहीबीच, पाकिस्तान र चीनबीच आइतबार भएको मन्त्रिस्तरीय वार्तामा सीपेक परियोजनामा तेस्रो मुलुकका लगानीकर्तालाई पनि आमन्त्रित गर्ने सहमति भएको छ । –एएनआई 

Leave a Reply