ए डिभिजन लिग ः मनाङ्को विजयी शुरुवात

२६ आश्विन २०७५, शुक्रबार

मनाङ मस्र्याङ्दी क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी शुरुवात गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आज भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई ३–१ गोलले पराजित गर्दै मनाङले विजयी शुरुवात गरेको हो ।

मनाङको जितमा अफिज ओलावलेले दुई तथा हेमन गुरुङले एक गोल गरे । ब्रिगेडका रजक तिवारीले एक गोल गरेका थिए । खेलमा शुरुवाती अग्रता भने ब्रिगेडले लिएको थियो । पहिलो हाफको २८ औँ मिनेटमा रजक तिवारीको गोलबाट ब्रिगेडले लिएको थियो तर, ४७ औँ मिनेटमा हेमनले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

खेलको ५७ औँ मिनेटमा ओलावलेले गोल गर्दै मनाङलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा ओलावलेले व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई ३–१ को जित दिलाए ।

जितसँगै मनाङले लिगको पहिलो खेलमा महत्वपूर्ण तीन अङ्क जोडेको छ । ब्रिगेडले भने अग्रता जोगाउन नसक्दा हारबाट प्रतियोगिताको शुरुवात गरेको छ ।

आजको खेलसँगै लिगका पहिलो चरणका खेल सकिएको छ । पहिलो चरणको खेल सकिएसँगै लिग एक महीनाका लागि स्थगित हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । दोस्रो चरणका खेल अब छठपछि सञ्चालन गर्ने एन्फाले जनाएको छ ।

Leave a Reply