लागुऔषधसहित पक्राउ

२८ आश्विन २०७५, आईतवार

 

सिन्धुली,  सिन्धुलीमा लागुऔषधसहित प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । सर्लाही जिल्ला हरिपुर्वा नगरपालिका–९ घर भई मलङ्गवा नगरपालिका–७ बस्दै आएका १९ वर्षीय अनिलकुमार बैठालाई काठमाडौँतर्फ आउने क्रममा कमलामाई नगरपालिका–६ ट्राफिक चेक पोष्ट अगाडि लागुऔषधसहित असोज २६ गते पक्राउ गरेको हो ।

बैठाको साथबाट फेनेग्राम एम्पुल ४०० वटा, नोफिन एम्पुल ४०० वटा र डाइजेपाम ४०० वटा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिनुभयो । घटनामा संलग्न अन्य व्यक्तिको समेत पहिचान भइसकेको र चाँडै नै पक्राउ गरिने उहाँको भनाइ छ ।

यसैबीच जिल्ला प्रहरी कार्यालयले दशैँका समयमा चाडपर्व मनाइरहँदा हुन सक्ने घटनालाई कमी गर्न ४०० जना प्रहरी जिल्लाभर परिचालन गरिएको प्रहरी उपरीक्षक यादवले जानकारी दिनुभयो । उहाँका अनुसार बिपी राजमार्गको माझीटार, ढुङ्ग्रेबास र सिन्धुली बसपार्कमा प्रहरी सहायता कक्ष सञ्चालन गरिएको छ ।

यातायात व्यवसायी वा जुनसुकै क्षेत्रबाट दशैँका नाममा बसले बढी भाडा लिए वा आफूलाई ठगिएको महसुस भएमा प्रहरीलाई खबर गर्न उहाँले आग्रह गर्नुभयो । साथै चाडपर्वलाई मर्यादित तवरले मनाउन आग्रह गर्दै कहिँकतै आपराधिक गतिविधि हुन लागेको थाहा पाएमा प्रहरीलाई जानकारी गर्न अनुरोध गर्नुभयो ।
–––

Leave a Reply