राजविराज नगरपािलका–६ की ४५ वर्षीया एकल महिला आशादेवी देवको हत्या आरोपमा सप्तरी प्रहरीले चार जनालाई पक्राउ गरेको छ । हत्या आरोपमा सोही ठाउँकी ३५ वर्षीया मुन्नीदेवी साह, ३० वर्षीया चनरदेवी मेहतर, ३२ वर्षीय शङ्कर राउत मेहतर र २६ वर्षीय सुरज मेहतरलाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक राजेन्द्र विष्टले व्यावसायिक रिसइवीका कारण देवलाई निजकै कोठामा इँटाले टाउकामा प्रहार गरी हत्या गरेको खुलासा गर्नुभयो । जिल्ला प्रहरी कार्यालयले आरोपितहरुविरुद्ध आइतबार कर्तव्यज्यानको उजुरी दर्ता गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय र कार्यालय प्रमुखको निवाससँग जोडिएकै घरमा एक्लै बस्दै आएकी देवको घरको पूर्व सामुन्ने प्रहरी नायब उपरीक्षक र प्रहरी निरीक्षकको निवास रहेको छ । रक्ताम्य लास दशैँको टीकाका दिन बिहान देवकै ओछ्यानमा फेला परेको थियो ।
मृतकको टाउकामा ६ इञ्च लम्बाइ र चार इञ्च चौडाइ गहिरो खत रहेको र रगत लागेको इँटा प्रहरीले बरामद गरेको जनाएको छ । बलात्कारपछि हत्या भएको आशङ्कामा फोरेन्सिक परीक्षणका लागि लासको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शवपरीक्षण भएको छ ।