पिपीएल क्रिकेट : चितवन पोखरासंग पराजित

१२ कार्तिक २०७५, सोमबार

पोखरा । घरेलु टोली पोखरा पल्टनले सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ ।

सोमबार भएको खेलमा पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजलाई ५ विकेटले हराएर शरद भेषवाकरको टिम पोखराले दोस्रो जित निकालेको हो ।

पोखरा रंगशालामा चितवनले दिएको १४१ रनको लक्ष्य पोखराले १७ ओभर २ बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।  खराब सुरुवात गरेको पोखराको जितमा रबि इन्दर सिंहले ६५ रनको अर्धशतकीय इनिङस खेले  । सिंहले रोहित कुमार पौडेलसंग तेस्रो विकेटका लागि ७८ रनको साझेदारी गरेका थिए  । रोहित १९ रनमा आउट भए ।

त्यसअघि पोखराले २ ओभर सकिदा २ विकेट गुमाएर एक रन पनि जोड्न सकेको थिएन । यस्तै कप्तान शरदले ३७ रन जोडे  । चितवनका करण केसीले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १४० रन बनाएको थियो ।  चितवनका लागि सन्नी पटेलले अविजित ४६ रनको योगदान दिदा कप्तान पारस खड्काले ४४ रन बनाए । त्यस्तै सोनु तामाङले २१ र अनिल कुमार साहले १६ रन जोडे ।

पोखराका बिक्रम भुसालले २ तथा महेबुब आलम, मोहमद नाभिद र शरद भेषवाकरले १/१ विकेट लिए ।

जितसंगै पोखराले ३ खेलबाट ४ अंक जोडेको छ । पोखराको प्ले अफ पुग्ने सम्भावना बलियो बनेको छ । पोखराले पहिलो खेलमा विराटनगर टाईटन्सलाई हराएको थियो । तर, आइतबार भएको खेलमा बुटवल ब्लास्टर्ससंग ३३ रनले हराएको थियो ।

चितवनको यो लगातार दोस्रो हार हो ।  चितवन पहिलो खेलमा बुटवल ब्लास्टर्ससंग ७० रनले पराजित भएको थियो ।  पराजित चितवनले २ खेलबाट अंक जोड्न सकेको छैन । यो हारसंगै चितवनको प्ले अफ पुग्ने सम्भावना कठिन बन्दै गएको छ ।

Leave a Reply