‘पार्टी र नेतृत्वलाई सुधार गर्न कार्यकर्ताको महत्वपूर्ण हात केसी

१५ आश्विन २०७५, सोमबार

पर्वत, असोज १५

नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी नेतृत्वलाई सुधार गर्न कार्यकर्ताको भुमिका महत्वपूर्ण हुने बताएका छन् । उनले कार्यकर्ता शक्तिको पछि भन्दा सत्यको पछाडी लागेमा पाटीमा आमुल परिवर्तन गर्न सकिने पनि धारणा राखेका छन् । पर्वतमा नेता कार्यकर्तासँगको छलफलमा केसीले नेतृत्वले गलत गरेपनि कार्यकर्ताले साथ र सहयोग गर्ने गरेको गुनासो गरे ।
‘पार्टी र नेतृत्वलाई सुधार गर्न कार्यकर्ताको महत्वपूर्ण हात रहन्छ, कार्यकर्ता शक्तिको पछि लाग्ने तर सत्यको पक्षमा बोल्न डराएकै कारण पार्टीमा यो दुरदशा आएको हो’ काँग्रेसका पूर्वसहमहामन्त्री समेत रहेका केसीले भने । पार्टीमा जसले चाकडी र चाप्लुसी गर्छ उसैले अवसर पाउने र दुःख गरेका इमान्दार कार्यकर्ता पछाडी पर्नुको कारण पनि शक्तिलाई साथ दिएर सत्यको पक्षमा नलाग्नुको कारण भएको उनको दाबी थियो ।
उनले जोसुकै नेता भएपनि राम्रो कुरालाई साथ दिन र गलत कुरालाई सचेत गराउन आग्रह गरे । पार्टीलाई सुदृढ पार्नुको सट्टा एकले अर्कालाई समाप्त पार्ने यदुबंशी प्रथा हावी भएकोमा चिन्ता ब्यक्त गर्दै केसीले नेतृत्वको गलत शैली र एकल निर्णय हावी हुँदा अहिलेको अवस्था आएको आरोप लगाए । उनले केन्द्रीय सदस्य, पदाधिकारी, संसदीय समिति, अनुशासन समिति लगायत सबै समिति प्रत्यक्ष निर्वाचित भएर आउने ब्यवस्था गर्नैपर्ने र त्यसका लागि साथ दिन सबै नेता कार्यकर्तालाई आग्रह गरे ।
विगतमा भएका तितामिठा कुरालाई बिर्सेर सबै पार्टी संगठन निर्माणमा लाग्नुको विकल्प नभएको भन्दै कार्यकर्तालाई पदको स्वार्थ त्यागेर संगठन निर्माणमा जुट्न निर्देशन पनि केसीले दिए । उनले ब्यक्ति स्वतन्त्रता, अभिब्यक्ति स्वतन्त्रता, जीवनको सुरक्षा र संरक्षण लोकतन्त्र भएको जिकिर गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि सोच्नुपर्ने बताए । उनले लोकतन्त्र भनेको बाद, प्रतिवाद र संबादको प्रक्रिया भएको बताउदै नयाँ मुलुकी संहितामा प्रेसमाथि नियन्त्रण गरेर लोकतन्त्रमाथि नै अंकुश लगाउन थालिएको र त्यो सुधार हुनैपर्नेमा जोड दिए ।
मुलुकमा हिंसा र बलात्कारका घटनाहरु बढ्दै गइरहेको अवस्थामा शान्ति सुरक्षा कमजोर भएको र निर्मला पन्त बलात्कार हत्याको छानबिन आयोगले तयार गरेको प्रतिबेदन सार्वजनिक नहुनुले विभिन्न आशंका पैदा भएको धारणा राखे । पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धि, बढदो महंगी र स्थानीय सरकारले लगाएको करले जनताको ढाड सेकेको भन्दै उनले बर्तमान सरकारको १३ प्रतिशत समयावधि त्यसै गुज्रेको बताए ।

 

Leave a Reply