पत्रकार सुरक्षा निर्देशिका जारी हुन्छ : आयोग अध्यक्ष शर्मा

१८ कार्तिक २०७५, आईतवार

 

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले पत्रकार सुरक्षाका लागि आयोगले छुट्टै पत्रकार सुरक्षा निर्देशिका तयार गरिरहेको जानकारी दिए।

पत्रकारविरुद्ध हुने अपराधको दण्डहीनता अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा फ्रिडम फोरमद्वारा आज यहाँ आयोजित ‘सुरक्षित पत्रकारिताका लागि दण्डहीनताको अन्त्य’ विषयक कार्यक्रममा उनले आयोगले तयार गर्न लागिएको सो निर्देशिकाको मस्यौदामाथि विभिन्न मानवअधिकार सङ्घसंस्थासँग सुझाव लिइरहेको बताए ।

अध्यक्ष शर्माले पछिल्लो समय मुलुकमा मानवअधिकारको अवस्था बिग्रँदै गएको प्रति चिन्ता व्यक्त गर्दै मुलुकको विभिन्न कालखण्डमा अपराधीले आममाफी पाउँदै जाँदा मानवअधिकारको अवस्था कमजोर हुँदै गएको धारणा व्यक्त गरे ।

सत्य निरुपण तथा मेलमिलाप आयोगकी सदस्य मञ्चला झाले कानुन संशोधनको अभावमा आयोगलाई काम गर्न गाह्रो परिरहेको बताए । मानवअधिकारकर्मी सुबोधराज प्याकुरेलले विकास भनेकै सामाजिक न्याय र दिगोपन भएको बताए ।

नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले राजनीतिक नेतृत्वले कारबाही गर्ने इच्छाशक्ति नदेखाउँदा पत्रकारविरुद्ध दण्डहीनता बढ्दै गएको बताए ।

वरिष्ठ पत्रकार हरिहर विरही, फ्रिडम फोरमका प्रमुख तारानाथ दाहाल, अध्यक्ष हरिविनोद अधिकारी, प्राध्यापक चिरञ्जीवी खनाललगायतले नेपालको पत्रकारिता मानवअधिकार प्रवद्र्धन गर्नेतिर उन्मुख हुनुपर्नेमा जोड दिए ।

 

‘खोज पत्रकारिता पुरस्कार’ रमेश र ‘साहसिक पत्रकारिता पुरस्कार’ चौधरीलाई प्रदान

यसैगरी फ्रिडम फोरमले यस वर्षको ‘खोज पत्रकारिता पुरस्कार’ र ‘साहसिक पत्रकारिता पुरस्कार’बाट दुईजना पत्रकारलाई सम्मान गरेको छ ।

 

 

‘खोज पत्रकारिता पुरस्कार’ हिमाल खबरपत्रिका विशेष संवाददाता रमेश कुमार (काठमाडौँ) र ‘साहसिक पत्रकारिता पुरस्कार पत्रकार रामविकास चौधरी (रुपन्देही)लाई प्रदान गरेको थियो ।

 

विशेषगरी खोजपत्रकारितामाफर्त देशको प्रशासनिक तथा आर्थिक नीति र तीनको कार्यान्वयनमा लुकेका, लुकाइएका विषयवस्तुलाई उधिनेर जनसमक्ष ल्याई राज्यका सम्बन्धित निकायबाट भएका कमिकमजोरी, विकृति, विसङ्गति, राज्य शक्ति तथा स्रोतको दुरुपयोग जस्ता विषयमा राज्यका निकाय तथा आम पाठकलाई सचेत गराइ नीति तथा व्यवहारमा सुधार ल्याउन र समग्र व्यवस्थापनमा सुशासन निर्माण गर्न योगदान पु¥याएवापत खोज पत्रकारिता पुरस्कार रमेश कमारलाई प्रदान गरिएको फ्रिडम फोरमले जनाएको छ ।

 

त्यसैगरी विभिन्न समयमा भौतिक आक्रमण तथा ज्यानको धम्कीका बावजुद निडर रही स्थानीय तहमा भएका प्रशासनिक तथा आर्थिक अव्यवस्था, विसङ्गति, स्रोतको दुरुपयोगजस्ता विषयमा निरन्तर चासो र खोजबिन गरी विभिन्न आमसञ्चारका माध्यमबाट समाचार प्रवाह गर्न मोफोसलमा निरन्तर सक्रिय रहेकाले चौधरीलाई ‘साहसिक पत्रकारिता पुरस्कार  पुरस्कार प्रदान गरिएको हो ।

 

प्रशंसापत्रसहित दुवै पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ ।

 

Leave a Reply