एसियाली प्यासिफिका लागि कराते खेलाडी छनोट

१९ कार्तिक २०७५, सोमबार
इन्डोनेसियामा हुने १५ औं एसियाली प्यासिफिक सितोरियो कराते च्याम्पियनसिपका लागि नेपालबाट ५ पुरुष र ४ महिला गरी ९ खेलाडी छनोट भएका छन् ।
नेपाल सितोरियो कराते संघले आयोजना गरेको छनोट प्रतियोगिताबाट आ–आफ्नो स्पर्धामा पहिलो भएका खेलाडी प्रतियोगितालाई छनोट भएको राष्ट्रिय रेफ्री संयोजक राजेन्द्र कपालीले जनाएका छन् । प्रतियोगिता इन्डोनेसियाको जकार्तामा नोभेम्बर २१ देखि २५ तारिखसम्म हुनेछ ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताको पुरुष एकल कातामा नेपाली सेनाका पर्शुराम बाँस्तोला पहिलो भए । उनले फाइनलमा आफ्नै विभागका प्रवीण मानन्धरलाई पराजित गरे । पुरुष ५५ केजीमुनि नेपाल प्रहरीका विजय श्रेष्ठ पहिलो भए । उनले फाइनलमा प्रहरीकै सोनाम लामालाई हराए ।
पुरुष ६० केजीमुनि काठमाडौंका अनिश लामा, ६७ केजीमुनि केन्द्रीय डोजोका आशिष थापा र ८४ केजीमाथि एपीएफ क्लबका डिगम्बरप्रसाद पन्तले शीर्ष स्थान हात पारे । निर्णायक भिडन्तमा अनिशले सन्तोष राई, आशिषले रुरीहाङ डुमी र डिगम्बरले ईश्वरधन राईको चुनौती समाप्त पारे । पराजित तीनै खेलाडी खोताङका हुन् ।
महिला एकल कातामा प्रहरीकी चन्चला दनुवारले आर्मीकी रिना श्रेष्ठलाई पाखा लगाउदै इन्डोनेसिया यात्रा पक्का गरिन् । महिला ५० केजीमुनि सेनाकी कुसुम खड्का पहिलो भइन् । कुसुमले फाइनलमा सेनाकै मिस्ली श्रेष्ठलाई निराश पारिन् । ५५ केजीमुनि एपीएफकी मनीषा चौधरीले खोताङकी विद्याकला राईलाई पन्छ्याउदै पहिलो स्थान हात पारिन् । ६१ केजीमुनि सेनाकी सनी तामाङ छनोट हुन सफल भइन् । फाइनलमा सनीले प्रहरीकी सुनीता महर्जनलाई हराइन् ।
आइतबार भएको एकदिने छनोटमा ६१ पुरुष खेलाडीले ५ स्पर्धा तथा ४५ महिला खेलाडीले ४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

Leave a Reply