शुद्धता, सद्भाव र आस्थाको पर्व छठ हर्षोल्लासपूर्वक मनाइँदै

२७ कार्तिक २०७५, मंगलवार

 

जनकपुरधाम । शुद्धता, सद्भाव र आस्थाको पर्व छठ यहाँ श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । श्रद्धालुले यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रूकमिणी सरोवर, अरगजा, महाराजसागर र अग्निकुण्डलगायतका कुण्ड, पोखरी, तलाउमा छठ पर्व सोमबार रातिदेखि नै मनाइरहेका छन् ।

राति खरना सम्पन्न भएदेखि नै श्रद्धालुले जलाशयमा बनाइएको घाटमा पूजा सामग्री राखी छठ पर्वको भक्तिमय वातारवणको अनुभूति गराइरहेका छन् ।

आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वमा ब्रतालुले मंगलबार बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अघ्र्य दिई पूजापाठ गर्नेछन् ।

सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वास अनुरूप यो पर्व मनाइन्छ । यस पर्वमा धनी, गरीब, उचनिचको भेदभावलाई छाडेर सबै वर्ग र समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गरेको पाइन्छ ।

यस पर्वको अवसरमा चमार जातिले ढोल बजाउने, मालीले फूल, बरइले पानको पात, कुम्हालेले माटोको भाँडा, डोमले बाँसका सामग्री पु-याउने गरेका कारण पनि यो पर्वमा श्रम विभाजनको अत्यन्त वैज्ञानिक रूप दृष्टिगोचर हुन्छ ।

छठमा बाँसको सामग्रीमा अघ्र्य दिएपछि वंशवृद्धि, केरामा भगवान् विष्णुको वास, ठकुवामा समृद्धि र मौसमी फल प्रकतिप्रति कृतज्ञताको द्योतक भएको मान्यता रहेको छ ।

प्रदेश २ सरकारले छठको सार्वजनिक बिदा दिएको छ ।

 

Leave a Reply