आप्रवासी नेपालीका चासो र सरोकारका विषयमा आवाज उठाइने: भण्डारी

२७ कार्तिक २०७५, मंगलवार

 

बाल्टिमोर,  डेमोक्र्याट पार्टीबाट संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर काउन्टीको डिस्ट्रिक ८ बाट हाउस अफ डेलिगेट्समा निर्वाचित ह्यारी भण्डारीले आफ्नो जीतमा अमेरिकाका हरेक राज्यमा बस्दै आएका नेपालीको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।
राजनीतिमा १० वर्षदेखि क्रियाशील नेपाली मूलका भण्डारी गत नोभेम्बर ६ मा सम्पन्न निर्वाचनमा विजय हासिल गरेर पहिलो नेपाली अमेरिकी बन्नुभएको छ । । भण्डारी अमेरिका आएर नागरिकता लिएको सात वर्षमा नै उक्त पदमा पुग्न सफल हुनुभएको छ ।

रासससँगको कुराकानीका क्रममा भण्डारीले आगामी दिनमा आप्रवासी नेपालीका चासो र सरोकारका विषयमा आवाज उठाइने बताउनुभयो ।

भण्डारीको जीत सम्भव हुनुमा उहाँको निरन्तरको लगाव, कर्मशील छवि र मतदातासँग घुलमिल नै कारक रहेको डा उत्तम गौली बताउनुहुन्छ ।
उक्त डिस्ट्रिकका ८० हजार मतदातामध्ये नेपाली मूलका करीब १०० जनाले मात्र मतदानमा भाग लिएका थिए । गौलीले अगाडि थप्नुभयो, “अमेरिकाको विविधताको मजबुत आधारशिलाका कारण भण्डारीले हाउसमा विधायक भएर सेवा गर्ने मौका पाउनुभएको छ ।”

मेरिल्याण्डमा रहेका राजनीतिक पर्यवेक्षकले नेपालीले गरेको ‘फर्सीको मुन्टाको डिप्लोमेसी’ले पनि काम गरेको बताउँछन् । आफ्ना छिमेकीलाई आफ्नो करेसाबारीमा फलेको तरकारी र फलफूल दिएर आफ्नो बनाउन नेपाली निकै सिपालु देखिएका छन् ।

भण्डारी जिताउ अभियानमा सहभागी तरुण पौडेलले भण्डारीको जीतले अमेरिकामा रहेका नेपालीका लागि एउटा अलग्गै इतिहास रच्न सफल भएको बताउनुभयो । मेरिल्याण्डमा नै बसोबास गर्दै आउनुभएका नेपाल–अमेरिका पत्रकार सङ्घका पूर्वअध्यक्ष गौतम दाहालले भण्डारीको जीतले डायस्पोरामा रहेका नेपालीको धार नै परिवर्तन भएको बताउनुभयो ।

पर्वत जिल्लाको थापाथानामा पिता अम्मरबहादुर र आमा कान्तिकुमारीका कोखबाट विसं २०३४ मा जन्मनुभएका भण्डारी अमेरिकामा सन् २००५ देखि बसोबास गर्दै आउनुभएको छ । उहाँले मतदानको अधिकार सन् २०११ मा पाउनुभएको थियो ।
–––

Leave a Reply