नेपथ्य देशका चार सहरमा गुन्जिँदै

२८ कार्तिक २०७५, बुधबार

लोकरक ब्यान्ड ‘नेपथ्य’ले पूर्वपश्चिम सांगीतिक यात्रा गर्ने भएको छ। यो यात्रामा पूर्वी पहाडी क्षेत्रदेखि पश्चिमको तराई भेगसमेत समेटिने नेपथ्यले जनाएको छ।

केही समय अघिमात्र काठमाडौं र सिक्किमका दर्शकसामु सांस्कृतिक प्रस्तुति दिइसकेको ब्यान्डले स्थापनाको २५औं वर्ष मूलुकका अन्य भागका संगीतप्रेमीसँग पनि मनाउने उद्देश्यले कार्यक्रम तय गरेको जनाएको छ। मंसिर ४ गते झापाको बिर्तामोडबाट सुरु हुने यात्रा मंसिर ७ गते धरान, १० गते बुटवल हुँदै १३ गते धनगढी पुगेर सम्पन्न हुनेछ।

दसौं एल्बम सार्वजनिक गर्ने तयारीमा रहेको ब्यान्डले सांगीतिक कार्यक्रममा नयाँ तथा पुराना सबै गीतहरु प्रस्तुत गर्ने छ।

‘द्वन्द्वका बेला सबैभन्दा बढी बिथोलिएको पश्चिमी भेगमा हामीले धेरै पटक पुगेर कन्सर्ट आयोजना गर्दै संगीतका माध्यमबाट भारी मनहरुलाई हलुका पार्न खोजेका थियौं,’ नेपथ्यका मुख्य गायक अमृत गुरुङ भन्छन्, ‘त्यतिबेला खतरालाई चिर्दै यात्रा गर्ने नेपथ्य अब पनि मुलुकभरका दर्शकहरुसँग निरन्तर जोडिएर अघि बढ्न प्रयत्नरत छ।’ देशको जटिल र सहज सबै परिस्थितीमा देशवासीको साथ पाउँदा आफूलाई खुसी लागिरहेको गुरुङ सुनाउँछन्।

नेपथ्य यात्राअन्तर्गत सबै स्थानका कार्यक्रम साँझ पौने ६ बजेदेखि सुरु हुनेछ। नेपथ्यले बिर्तामोडको डोमलाल राजवंशी रंगशाला, धरान रंगशाला, बुटवल रंगशाला (एन्फा टेक्निकल सेन्टर) र धनगढी रंगशालामा प्रस्तुति दिनेछ।

नेपालयद्धारा व्यवस्थापन गरिने ‘नेपथ्य यात्रा’ बिर्तामोडमा सहारा नेपालले आयोजना गर्नेछ भने धरानमा ‘एम सी कफी आवर’ र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरुको संस्था ‘परिक्रमा स्टुडेन्ट्स् फेमिली’ले कन्सर्ट आयोजना गर्दैछन्। त्यस्तै, बुटवलमा ‘यस नेपाल’ र धनगढीमा ‘दाताज् इभेन्ट’ र ‘द मेन्सन् नेपाल’ले कार्यक्रम आयोजना गर्दैछन्।

Leave a Reply