छुट्टाछुट्टै घटनामा चारको मृत्यु

२ मंसिर २०७५, आईतवार

भरतपुर महानगरपालिका–६ ब्रम्हदेव चोकमा आज बिहान टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गीतानगरले दिएको जानकारीअनुसार मृत्यु हुनेमा भारत घर भई हाल भरतपुर महानगरपालिका–१५ लामिछाने चोकमा डेरा गरी बस्ने महमद आलमका अन्दाजी चार वर्षीय छोरा अहिल आलम रहेका छन् ।

बाबु छोरा पटिहानीतर्फ साइकलमा जाँदै गर्दा विपरीत दिशाबाट आउँदै गरेको ना५ख ६९९८ नंको टिपरले साइकललाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट गम्भीर घाइते बालकको उपचारका लागि अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । साइकल चालक बाबु आलम सामान्य रहनुभएको छ ।

ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि क्षयरोग केन्द्र अगाडि मूल सडकमा गए राति ११ बजे तीन सवारीसाधन ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बा२ख १६५४ नंको मिनीट्रक चालक काभ्रे बनेपा नगरपालिका–४ नाला बस्ने ३४ वर्षीय राजेन्द्र श्रेष्ठ र सोही ठाउँ बस्ने २८ वर्षीय सहचालक टार्जन श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

काठमाडाँैबाट भक्तपुर जाँदै गरेको बा२क ३९३५ नंको टिपर र सो भन्दा पछाडि बा२ख १६५४ नंको मिनीट्रक रोकिराखेको स्थानमा सोही दिशाबाट आउँदै गरेको बा५ख ३७६५ नंको काभ्रे काठमाडौँ नगरबसले पछाडिबाट ठक्कर दिँदा मिनीट्रक उछिट्टिएर टिपर पछाडि ठोक्किदा च्यापिएर घाइते भएका मिनीट्रक चालक र सहचालकको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका तीन वटै सवारीसाधन र बसका चालक काभ्रे पनौतीका सुरेश सापकोटालाई प्रहरी नियन्त्रणमा लिएर थप अनुशन्धान अघि बढाएको छ ।

त्यसैगरी मध्यपुरथिमि नगरपालिका–३ नमूनाबस्तीमा आज बिहान भएको दुर्घटनामा एक वृद्धको मृत्यु भएको छ । बा४ख ४२१४ को पानी ट्याङ्करले ठक्कर दिँदा तेह्रथुम घर भई गठ्ठाघर बस्ने ७८ वर्षीय नेत्रप्रसाद पराजुलीको मृत्यु भएको महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो । ठक्करबाट घाइते पराजुलीको उपचारको क्रममा आज बिहान ८ बजे मृत्यु भएको र ठक्कर दिने ट्याङ्कर चालक भने फरार रहेको उहाँले बताउनुभयो ।

Leave a Reply