थ्री स्टार शीर्ष स्थानमा

२ मंसिर २०७५, आईतवार

काठमाडौं । ललितपुरे क्लब रुस्लान थ्री स्टार क्लबले पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा ब्रिगेड ब्वाईजलाई ५ – १ ले हराउदै थ्री स्टारले जितलाई कायम राखेको हो।

 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा थ्री स्टारलाई जित दिलाउन रजिन धिमाल, सुनिल बल, रन्जन बिष्ट, निराजन खड्का र कप्तान बिक्रम लामाले एक एक गोल गरे । ब्रिगेडका रजत तिवारीले एक गोल फर्काए ।

 

कप्तान बिक्रमले पुनरागमन गरेको खेलमा थ्री स्टारले पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा तीन गोल थपेको थियो  । चोटका कारण करिब ८ महिना मैदान बाहिर रहेका कप्तान बिक्रम ब्रिगेडविरुद्धको खेलसंगै मैदान फर्किएका हुन् ।

 

खेलको नवौं मिनेटमा रजिनले पेनाल्टीमा गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए । ब्रिगेड ब्वाईजका खेलाडीले निराजन खड्कालाई डिबक्समा लडाएपछि पाएको पेनाल्टीमा रजिनले गोल गरेका हुन् ।

 

यस्तै खेलको ५२ औं मिनेटमा सुनिलले गोल गर्दै थ्री स्टारलाई २ – ० को अग्रता दिलाए । तर, ७४ औं मिनेटमा रजतले गोल गर्दै ब्रिगेड ब्वाईजलाई २ – १ को स्थितिमा ल्याए ।

त्यसपछि थ्री स्टार थप आक्रामक बन्यो । खेलको ८५ औं मिनेटमा रन्जनले गोल  गर्दै थ्री स्टारलाई ३ – १ को अग्रता दिलाए । खेलको ९० औं मिनेटमा निराजनले गोल गर्दै थ्री स्टारको अग्रता ४ – १ को बनाए ।

 

त्यसपछि खेलको इन्जुरी समयमा कप्तान बिक्रमले गोल गर्दै थ्री स्टारलाई ५ – १ को जित दिलाए । मैदान फर्किएकै खेलमा कप्तान बिक्रमले गोल गरेका हुन्  ।

खेलमा म्यान अफ दि म्याच थ्री स्टारका सुनिल बल घोषित भए ।

 

जितसंगै थ्री स्टार लिगको शीर्ष स्थानमा उक्लिएको छ । थ्री स्टारले २ खेलबाट ६ अंक जोडेको छ । थ्री स्टारले मनाङ मर्स्याङ्दी क्लबलाई गोल अन्तरमा पछि पार्दै शीर्ष स्थान हात परेको हो । यसअघि पहिलो खेलमा थ्री स्टारले फ्रेन्ड्स क्लबलाई २–१ ले पराजित गरेको थियो ।

 

यता ब्रिगेड ब्वाईजले भने लगातार दोस्रो हार व्यहोरेको छ । पहिलो खेलमा ब्रिगेडले मनाङसंग ३ – १ को पराजय व्यहोरेको थियो । ब्रिगेडले २ खेलमा अंक जोड्न सकेको छैन ।

 

Leave a Reply