ब्रिगेड ब्वाइजसंग एपीएफ पराजित

७ मंसिर २०७५, शुक्रबार

ब्रिगेड ब्वाइज क्लबले पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ ।

शुक्रबार भएको खेलमा १० खेलाडीमा सिमित एपीएफ क्लबलाई ३ – १ गोल अन्तरले पराजित गर्दै ब्रिगेडले पहिलो जित निकालेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरुवाती अग्रता जोगाउन नसक्दा एपीएफ पराजित भएको हो । ब्रिगेडलाई जित दिलाउन मनोज राई, ताजुदीन आदुलिनी र काजिम एडेलजोकले एक एक गोल गरे । एपीएफका रुप बहादुर लामाले एक गोल फर्काए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६० औं मिनेटमा रुप बहादुरले गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाए  । तर, खेलको ६३ औं मिनेटमा ब्रिगेडका मनोजले फ्रिकिकबाट गोल गर्दै खेल  १ – १ को बराबरीमा ल्याए ।

त्यसपछि खेलमा ब्रिगेडका दुई विदेशी खेलाडी चम्किए । खेलको ६९ औं मिनेटमा ताजुदीनले गोल गर्दै ब्रिगेडलाई २ – १ को अग्रता दिलाए । खेलको ७५ औं मिनेटमा काजिमले गोल गर्दै ब्रिगेडलाई ३ – १ को जित दिलाए ।

खेलको अन्तिम ३ मिनेट बाँकी रहदा एपीएफ १० खेलाडीमा समेटिएको थियो । विश्वास उदासले रातो कार्ड पाएपछि एपीएफ १० खेलाडीमा समेटिएको हो ।

ब्रिगेडका मनोज म्यान अफ दि म्याच चुनिए ।

एपीएफलाई हराएसंगै ब्रिगेडले तीन खेलपछि ३ अंक जोडेको छ । ब्रिगेडले अघिल्ला दुई खेलमा पराजय व्यहोरेको थियो ।

यता, एपीएफको भने यो पहिलो हार हो । एपीएफले पहिलो खेलमा बराबरी र दोस्रो खेलमा जित निकालेको थियो । एपीएफको ३ खेलबाट ४ अंक छ ।

Leave a Reply