श्रीलङ्का मन्त्रालयहरुको खर्च कटौती

१४ मंसिर २०७५, शुक्रबार

श्रीलङ्काको संसदले मन्त्रालयहरुको खर्च कटौतीको प्रस्ताव शुक्रबार पारित गरेको छ ।
संसदका बहुसंख्यक सांसदले सो प्रस्तावको पक्षमा मतदान गरेपछि प्रस्ताव पारित भएको अधिकारीहरुले जनाएका छन् ।
राष्ट्रपतिद्वारा मनोनित प्रधानमन्त्री महेन्दा राजापाक्षेको कार्यालयको खर्च कटौती गरेको भोलिपल्ट संसदले मन्त्रालयहरुको खर्च कटौती गरेको हो ।
संसदको यो निर्णयसँगै राजापाक्षे सरकारमाथि संसदको नियन्त्रण बढ्दै गएको छ भने सरकारलाई गाह्रो पर्ने देखिएको छ ।
सांसदहरुले मुलुकको आर्थिक तथा राजनीतिक संकटलाई न्युनिकरण गर्ने उद्देश्यले प्रधानमन्त्री र मन्त्रीहरुको खर्च कटौती गरेको बताइएको छ ।
श्रीलङ्कामा विगत केही समयदेखि अनेक राजनीतिक उतारचढावसाथ र सङ्कट बढ्दै गइरहेको छ ।
खर्च घटाउनेसम्वन्धी प्रस्ताव जाथीका हेला उरुमायाका सांसद चम्पीका रणवाकाले गर्नु भएको समाचारमा जनाइएको छ । सो पार्टी अपदस्त प्रधानमन्त्री रनिल विक्रमासिङ्घेसँग नजिक रहेको थियो ।
सो प्रस्तावमा संसदका कुल २२५ सांसदहरूमध्ये १२२ जना सांसदले मतदान गरेको समाचारमा जनाइएको छ ।
यसअघि हिजो प्रधानमन्त्रीको खर्च कटौतीको प्रस्तावमा १२३ जना सांसदले पक्षमा मतदान गरेको थियो ।
प्रधानमन्त्रीको खर्च कटौतीको प्रस्ताव अपदस्त प्रधानमन्त्री विक्रमासिङ्घेको पार्टी युनाईटेड नेस्नल पार्टी (युपीएन)का सांसद रवि करुणानायकेले संसदमा प्रस्तुत गर्नु भएको थियो ।
राष्ट्रपति मैत्रीपाला सिरिसेनाले तत्कालिन प्रधानमन्त्री विक्रमासिङ्घेलाई अपदस्त गरेर विपक्षी नेता महेन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि असन्तुष्टि संसदले प्रधानमन्त्रीलाई असहयोग हुने र नियन्त्रण गर्नेगरी यस्तो प्रस्ताव पारित गरेको हो ।
श्रीलङ्कमा अहिले संसद र अदालतले राष्ट्रपति र प्रधानमन्त्री असहमति जनाउदै आएका छन् । उनीहरुले राष्ट्रपतिको कदम गलत भएको र प्रधानमन्त्री पनि अवैध भएको दावी गरेका छन् ।

Leave a Reply