क्यानडा पठाइदिने भन्दै एक करोड ३७ लाख ठग्ने पक्राउ

0
704

क्यानडा पठाइदिने भन्दै विभिन्न युवासँग रु एक करोड ३७ लाख ठगी गरेर फरार गोकर्णेश्वर नगरपालिका–१ निवासी ३८ वर्षीया सङ्गीता अधिकारी रायमाझीलाई प्रहरीले आज पक्राउ गरेको छ ।

ठगीमा परेका युवाले दिएको सूचनाका आधारमा अपराध अनुसन्धान महाशाखाको टोलीले फरार रहेकी अधिकारीलाई पेप्सीकोलाबाट पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिनुभयो ।

अधिकारीले क्यानडा पठाइदिन्छु भन्दै काभ्रेका नवीन तामाङसँग रु २९ लाख र धिरेन्द्रकुमार पुलामीसँग रु २२ लाख, दोलखाका सुदीन खड्कासँग रु २७ लाख २० हजार तथा भक्तपुरका रामकृष्ण सुवालसँग रु १९ लाख ९० हजार र डेकराज कार्कीसँग रु १९ लाख तथा जयराम सुकुभुटुसँग रु २० लाख रकम लिएको अखिल नेपाल वैदेशिक रोजगार पीडित तथा परामर्श सङ्घले जनाएको छ ।

पक्राउ परेकी अधिकारीलाई बैङ्किङ कसूर र वैदेशिक रोजगार कसूर मुद्दामा कारबाही अघि बढाइने प्रवउ सिंहले जानकारी दिनुभयो । निज अधिकारी चर्चित फुटबल खेलाडी निराजन रायमाझीको श्रीमती हुन् ।