प्रधानले फिर्ता गरे घरभाडा वापतको रकम

0
654

काठमाडौं ,नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले संसद सचिवालयमा आफ्नो नाममा देखिएको घरभाडा वावतको करिब ८५ हजार रुपैयाँ फिर्ता गरेका छन ।
उनले सोमबार संघीय संसद सचिवालय पुगेर आफ्नो नाममा देखिएको २०७४ फागुन देखि २०७५ मंसिरसम्मको ८४ हजार ३ सय रुपैयाँ फिर्ता गरेका हुन ।
यसअघि उनले आइतबार घरभाडा वापत आफूले रकम लिएको भनेर आएको समाचार प्रति ध्यानाकर्षण भएको भन्दै संसद सचिवालयमा पत्र पठाएर आफ्नो नाममा आएको रकमबारेको विवरण मागेका थिए । सो पत्रमा उनले घरभाडा वापत रकम लिएको पाइए फिर्ता गर्ने बताएका थिए ।
प्रधानले संसद सचिवालयमा दर्ता गरेको पत्रमा भनेका छन,‘मैले गत २०७४ फागुनबाट घरभाडा वापत संसद सचिवालयबाट रकम लिएको भन्ने समाचार सार्वजनिक भएको हुँदा के कति प्राविधिक कारणबाट सो रकम आफ्नो नाममा आएको हो, घर भाडा दिएको अवस्था रहे फिर्ता गर्ने आवश्यक व्यवस्थाका लागि अनुरोध छ ।’
प्रधानले २०७० सालको संविधान सभाको दोस्रो निर्वाचनमा निर्वाचित भएपश्चात सम्पत्ति विवरण सम्वन्धि सुचनामा कामनपा–३० (हाल२७)मा सगोल घर रहेको कारणले घरभाडा वापत दिइने रकम नलिने साथै, दोस्रो संविधान सभा र हाल प्रतिनिधि सभाको सदस्य रहीरहँदा समेत औषधोपचार वापत पाउने सुविधा नलिएको संसद सचिवालयमा दर्ता गरेको पत्रमा भनेका छन ।
यस अघि नेकपाका नेता योगेश भट्टराईले समेत आइतबार आफ्नो नाममा प्राविधिक कमजोरीका कारण देखिएको घरभाडा वापतको ९० हजार रुपैयाँ फिर्ता गरेका थिए ।