पूर्वप्रधानमन्त्री तुलसी गिरीको निधन

0
839

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको मंगलबार बिहान निधन भएको छ । आफ्नै निवास बूढानीलकण्ठमा उनको ९३ वर्षको उमेरमा निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार कलेजोमा क्यान्सर लागेका उनको केही दिनअघिसम्म भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो ।

अन्तिम अवस्थामा पुगेपछि उनलाई घरमा ल्याइएको थियो । सोही क्रममै उनको निधन भएको थियो ।

पञ्चायत कालमा उनी पटकपटक प्रधानमन्त्री भएका थिए । पछिल्लो पटक पूर्वराजा ज्ञानेन्द्र शाहले शाहीकाल लगाउँदा उनी मन्त्रिपरिषदका उपाध्यक्ष भएका थिए ।

गिरीका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर उनकै निवास बुढानीलकण्ठमा राखिने बताइएको छ ।

यसैबीच पूर्व प्रधानमन्त्री तुलसी गिरीको निधन भएको खवरले स्तव्ध भएको प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएका छन् । ट्वीटरमा ट्वीट गर्दै उनले लेखेका छन् –मलाई दुःख लागेको छ । यस घडीमा स्वर्गीय गिरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’