श्रीयाको बलत्कारपछि हत्या गर्ने कुसुम पौडेललाई जन्मकैदको सजाय

४ पुष २०७५, बुधबार

पोखराकी १० वर्षीय बालिका श्रीया सुनारको बलात्कार प्रयासपछि हत्या गर्ने कुसुम पौडेललाई जन्मकैदको सजाय सुनाइएको छ । पोखरा– २२ पुम्दीभुम्दीका २७ वर्षीय कुसुमलाई जिल्ला अदालत कास्कीले आजीवन कैदको फैसला सुनाएको हो ।

श्रीयाको गत असोज ७ गते बलात्कारपछि हत्या भएको थियो । जिल्ला न्यायाधीश योगेन्द्रप्रसाद साहको इजलासबाट मंसिर १७ गते कसुर ठहर भइ बुधबार सजाय निर्धारण भएको हो । मीनबहादुर विकको जाहेरीले नेपाल सरकार वादी रहेको मुद्दामा पौडेल आजीवन जेल बस्नेछन् ।

घटनाको अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय कास्कीले असोज २२ मा सरकारी वकिलमार्फत मुद्दा दायर गरेको थियो । मुलुकी अपराध संहिता ऐन २०७४ दफा ४१ (च) अनुसार पौडल अब जीवनभर जेल बस्नुपर्नेछ ।

नयाँ मुलुकी संहिताअनुसार पौडेललाई जिवित रहेसम्मका लागि कैद सजाय हुने फैसला गरिएको स्रेस्तेदार जगन्नाथ पौडेलले जानकारी दिए ।

रक्सीमा मात्तिएर श्रीयामाथि बलात्कार गर्न खाजेको र नमानेपछि हत्या गरेको पौडेलले स्वीकारेका थिए । पैसाको लोभ देखाएर बाटोभन्दा केही पर लगेर बलात्कार गर्न खोजेको, श्रीयाले प्रतिकार गरेपछि घाँटी थिचेको र बेहोस भएको थाहा भएपछि ढुंगाले टाउकोमा हानेर हत्या गरेको कुसुमले अदालतमा बयान दिएका थिए ।

Leave a Reply