गण्डकी प्रदेश सदस्य बिन्दुकुमार थापाले काहुँ पर्यटकी गन्तव्य बन्दै गएको बताएका छन। जनकल्याण क्लबको आयोजना र फूलबारी क्लबको सहआयोजनामा १० दिनसम्म चलेको काहुँ धरहरा महोत्सव समापनको अवसरमा बोल्दै थापाले काहुँ क्षेत्रले छिट्टै पर्यटन व्यवसायद्धारा आर्थिक कारोबार बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । पर्यटकीय विकास र धरहरा निर्माणमा स्थानीय, प्रदेश र संघीय सरकारले पहल गर्ने उनको भनाई थियो ।
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पर्यटकीय क्षेत्रमा प्रचूर सम्भावना रहेको काहुँ क्षेत्रको जग्गा बाँझो राख्न नहुनेमा जोड दिए ।
महोत्सव समापन अवसरमा विभिन्न प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण गरियो । रत्यौली गीत प्रतियोगितामा काहुँ कालिका समूह प्रथम, काहुँ आदर्श आमा समूह दोस्रो, आर्वा दिदीबहिनी समूह तेस्रो, नमूना आमा समूह र हेमजा आमा समूह सान्त्वना भए ।
खुला लोकदोहोरीगीत प्रतियोगितामा बाराही दोहोरी साँझ प्रथम, दर्पण छाया दोहोरी साँझ दोस्रो, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान लमजुङ तेस्रो र राष्ट्रिय लोकदोहारी गीत प्रतिष्ठान हेमजाले सान्त्वनाको पुरस्कार पाए । कवितावाचन प्रतियोगितामा संगम संयोग प्रथम, केआर ढकाल दोस्रो, तारानाथ पराजुली तेस्रो र नीरज दाहाल सान्त्वना भए ।
खेलकुदतर्फ साइकल रेस, पर्वतीय दौड र चित्रकला प्रतियोगितालाई समेत पुरस्कृत गरिएको प्रचार प्रसार संयोजक दामोदर आचार्यले जानकारी दिए ।विगत २०६२ र २०६५ सालमा दोस्रो संस्करणसम्म काहुँ महोत्सव सम्पन्न गराएको योगदानको कदरस्वरुप तत्कालीन महोत्सव संयोजक ईश्वरीप्रसाद आचार्यलाई तेस्रो संस्करणको समापनमा सम्मान गरिएको थियो ।
महोत्सव आयोजक जनकल्याण क्लब अध्यक्ष देवबहादुर गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममापोखरा ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोला, महोत्सवको मुख्यप्रायोजक एनएमबी बैंकका गण्डकी प्रदेश उपप्रमख अमृतराज बास्तोला, समाजसेवी टीकाबहादुर काकी लगायतले काहुँलाई प्रमुख पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा जोड दिए ।महोत्सव संयोजक दीपकप्रकाश आचार्यले महोत्सव अवधिभर कुल ६५ हजार दर्शकले महोत्सव अवलोकन गरेको जानकारी दिए ।