क्रान्तिनायक अधिकारी रहेनन

0
774

स्याङ्जा,   नेपाली कांग्रेस स्याङ्जाका नेता क्रान्तिनायक शिवकुमार अधिकारीको ८९ बर्षको उमेरमा  निधन भएको छ ।
पुतलीबजार नगरपालिका १० राङ्खोला निवासी पंचायती शासन बिरुद्ध रगतले हस्ताक्षर गर्ने र बम काण्डका एक योद्धालाई बुधवार स्याङ्जाले गुमाएको हो । बिगत ५÷७ महिनादेखि व्रेन टूयुमरबाट पिडित अधिकारीको जन्मघरमा ल्याउने क्रममा बाटोमा निधन भएको हो । उनको काठमाण्डौं लगायत भारतमा समेत उपचार भएको थियो ।
२०१७ सालको राजनीतिक कू पछि नेपाली काँग्रेसप्रति आबद्ध भई राजनीतिक यात्रा शुरु गरेका अधिकारी नेपाली काँग्रेस जिल्ला सदस्य, सचिव, महाधिबेशन प्रतिनिधि र महासमिति सदस्य बनेर कांग्रेसको संगठन सुदृढीकरणमा निरन्तर लागे । काँग्रेसले आव्हान गरेको सशस्त्र आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने क्रममा २०३१ साल साउन ४ गतेको बमकाण्डका क्रान्तीकारी योद्धा अधिकारी हातहतियार सहित पक्राउ परेका हुन ।
स्वर्गिय अधिकारी २०४९ सालमा सम्पन्न भएको स्थानीय निकायको निर्वाचनबाट जिल्ला विकास समिति स्याङ्जाको सभापतिमा निर्वाचित भए । नेपाली कांग्रेसका तर्फबाट निर्वाचित अधिकारी स्याङ्जा जिविसका पहिलो सभापति हुन । अंग्रेजी भाषा शिक्षक, प्रिन्सिपल हुदै बिभिन्न सामाजिक सेवामा समेत आवद्ध थिए ।
अधिकारीको पार्थिव शरिरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ, केन्द्रीय सदस्य धनराज गुरुङ, भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्याल, प्रतिनिधीसभा सदस्य नारायणप्रसाद मरासीनी, गण्डकी प्रदेश सदस्यहरु भागवतप्रकाश मल्ल, मेखलाल श्रेष्ठ, मोहनप्रसाद रेग्मी, नेपाली कांग्रेसका जिल्ला सचिव कुमार राना लगायत नेपाल कम्यूनिष्ट पार्टीका सयौं नागरिकले पुष्प गुच्छा चढाएर अन्तिम श्रद्धान्जली दिएका थिए ।
अधिकारीका २ श्रीमती ३ छोरा र एक छोरी हुनुहुन्छ् । उहाको हिजो नै हिन्दुहरुको पबित्र तिर्थस्थल रामनदीधाममा अन्त्येष्टी गरिएको छ ।
यसैबीच, नेपाली कांग्रेस स्याङ्जाले प्रेश बिज्ञप्ति मार्फत अधिकारीको निधनले कांग्रेस पार्टीलाई अपुरणीय क्षति पुगेको जनाउदै पार्टीका सल्लाहकार, बौद्धिक एवं कर्तब्यनिष्ट कार्यकर्ता गुमाएको जनाएको छ । साथै, पार्टीको जिल्ला कार्यालय तीन दिनसम्म बन्द गर्ने, पार्टीको झण्डा १३ दिनसम्म आधा झुकाउने र पार्टी कार्यालय स्याङ्जामा शोक पुस्तिका राख्ने निर्णय गरेको प्रवक्ता इन्द्रबहादुर गोदारले जानकारी दिए ।