३८ क्विन्टल सुन तस्करी प्रकरण : पाँच आरोपितको मुद्दा सर्वोच्चमा सुनुवाइ हुँदै

0
500

३८ क्विन्टल सुन तस्करीको आरोपमा थुनामा रहेका पाँच आरोपितहरुको मुद्दा सर्वोच्चमा शुक्रबार सुनुवाइ हुँदैछ। जिल्ला अदालत मोरङको थुनामा पठाउने आदेश र सोही आदेश सदर गर्ने उच्च अदालत विराटनगरको आदेशविरुद्ध उनीहरुले दायर गरेको निवेदनमा सुनुवाइ हुन लागेको हो।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासमा उक्त मुद्दा पेशी रहेको छ।

मोरङ जिल्ला अदालतमा दर्ता भएको सुन तस्करी, कर्तव्य ज्यान तथा संगठित अपराध मुद्दामा उक्त अदालतको आदेशलाई चुनौती दिँदै उनीहरु सर्वोच्च पुगेका थिए। आरोपितहरु डिएसपी सञ्जयबहादुर राउत, तुलाराम थारु, रामकुमार तिवारी र गोविन्दप्रसाद निरौला र महावीरप्रसाद गोल्यानको मुद्दा उक्त इजलासमा सुनुवाइ हुँदैछ। यसअघि पनि सर्वोच्चले फाइल मगाउने आदेश गरेको  थियो।

मोरङ जिल्ला अदालतको आदेशविरुद्ध सात आरोपितले सर्वोच्चमा निवेदन दिएका थिए। सरकारी पक्षले पनि दुई जनाविरुद्ध निवेदन दर्ता गराएको छ। उनीहरुको निवेदनमा पहिलो सुनुवाइ भइसकेको छ। दोस्रो सुनुवाइमा सामान्य धरौटीमा छोड्ने विषयमा आदेश गर्न आरोपितहरुले अघिल्ला प्रधान न्यायाधीश ओमप्रकाश मिश्रको पालामा चलखेल गरिरहेका थिए । उनको अवकाशसँगै यो मुद्दा नयाँ न्यायाधीशको इजलासमा पेशी तोकिएको छ। चलखेलकै लागि यसअघि पटक–पटक एकै न्यायाधीशको इजलासमा पेशी तोकिँदै आएको थियो।

सर्वोच्च पुगेका अधिकांश आरोपितलाई जिल्ला अदालतले थुनामा राख्ने आदेश गरेको थियो। त्यसविरुद्ध उनीहरू उच्च अदालत समेत पुगेका थिए। तर उच्चले पनि केही आरोपितलाई थुनामुक्त गर्न अस्विकार गरेपछि उनीहरु सर्वोच्च पुगेका हुन्। यसअघिको सुनुवाइमा सर्वोच्चले फाइल मगाएकाले आजको सुनुवाइमा थुनामा राख्ने निर्णयको बारेमा तल्लो अदालतले दिएको आदेशको वैधानिकता जाँच गर्नेछ।

सुन तस्करी प्रकरणमा जिल्ला र उच्च अदालतले धरौटीमा रिहा गर्न अस्वीकार गरेपछि डिएसपी राउत, थारु, तिवारी, सम्बिर तोलाङ्गे, हेमन्त गौतम, राजन थापा दम्बा सान्डु तामाङलगायत सर्वोच्च पुगेका थिए।

जिल्ला र उच्च अदालतको आदेशलाई चुनौती दिँदै उनीहरूले सर्वोच्चमा १७ नम्बरको निवेदन दिएका हुन्। तल्लो अदालतको आदेश चित्त नबुझे माथिल्लोमा जान पाउने सुविधाअन्तर्गत उनीहरू सर्वोच्च आएका हुन्।

करिब डेढ महिना लामो अनुसन्धानपछि गत बैसाख २६ गते जिल्ला सरकारी वकिलको कार्यालयले बहालवाला प्रहरी अधिकृतसहित २९ जनालाई पक्राउ गरी अदालतमा पेस गरेको थियो। उनीहरूविरुद्ध संगठित अपराधअन्तर्गत आपराधिक समूह स्थापना गरी सुन चोरीपैठारी र निकासी गरेको, अपहरण तथा शरीर बन्धक बनाएको र कर्तव्य ज्यान मुद्दामा आरोपपत्र दायर भएको थियो।