तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव मदन भण्डारीलाई मुख्य पात्र बनाई लेखिएको उपन्यास ‘बर्बरिक’माथि तयार नाटकको मञ्चन सुरु भएको छ।
झोराहाट नाटक घर, विराटनगरका कलाकारहरुद्धारा राजधानीको बिजुलीबजारस्थित कुञ्ज थियटरमा ‘बर्बरिक’ नाटक मञ्चन सुरु भएको हो।
नाटक नेकपा नेता तथा साहित्यकार प्रदीप नेपालद्वारा लिखित उपन्यास ‘बर्बरिक’को नाट्य रुपान्तरण हो। नाटकमा उपन्यासमा जस्तै महाभारतका एक पात्र ‘बर्बरिक’सँग स्वर्गीय भण्डारीलाई तुलना गरिएको छ।
नाटकमा विसं २०४६ देखि २०५० सम्मको राजनीतिक गतिविधि, संयुक्त जनआन्दोलन र नेता भण्डारी र जीवराज आश्रितको रहस्यमय दासढुङ्गा दुर्घटनाका विषयहरु समेटिएको छ। तत्कालीन राजा विरेन्द्रसँग जनताको सार्वभौमसत्ताको बारेमा नेता भण्डारीले गरेको वार्तालापलाई नाटकमा जीवन्त बनाउने कोशिष गरिएको छ।
त्यसैगरी, लौहपुरुष गणेशमान सिंह र नेता भण्डारीको मित्रतालाई पनि नाटकमा देखाइएको छ। सुरक्षा खतराकाबीच अस्पतालको शय्यामा जारी आन्दोलन र राजाकोे गिर्दो आत्मविश्वासका बारेमा दुई नेताबीचको वार्तालापलाई कलाकारहरुले सचित्र उतार्न सकेको देखिन्छ।
नाटक हेरेपछि पुस्तकका लेखक एवम् वामपन्थी नेता प्रदीप नेपालले कलाकारहरुले आफ्ना पात्रहरुप्रति ९९ प्रतिशत न्याय गरेको प्रतिक्रिया दिए।
‘बर्बरिक’को मुख्य भूमिकामा कलाकार भरत गुरागाईं छन् भने निर्देशन जीवन बरालले गरेका हुन्।
‘बर्बरिक’ नाटक आगामी माघ १२ गतेसम्म कुञ्ज थियटरमा प्रदर्शन हुनेछ।