आजदेखि श्रीस्वास्थानी व्रतकथा सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि शुरु भएको हो ।
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन आज हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ ।
प्रत्येक वर्ष आजैका दिन (पुस शुक्ल पूर्णिमा)देखि स्वस्थानी व्रतकथा सुरु भई माघ शुक्लपूर्णिमाका दिन समापन हुने गर्दछ ।
पौष शुक्ल चतुर्दशीका दिन हातगोडाको नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर यसको सुरुवात हुन्छ । बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गर्ने गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी ब्रत कथा सुन्ने सुनाउने परम्परा रहिआएको छ ।
एक महिनासम्म यो विधिबाट ब्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, बस्त्र, भेटी चढाइ ब्रतको कामना पुरा होस् भनी भगवतीलाई अर्घ दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ-आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई, मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने विधि रहेको छ ।
सय रोटी ब्रतालु आफैँले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा ब्रतालुको मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको व्रत बस्नाले यस लोकमा सुख, सम्वृधि प्राप्त हुने र मृत्युपछि पनि कैलाशमा वास हुने विश्वास गरिन्छ ।यस अवसरमा राजधानीदेखि १७ किलोमिटर उत्तरपूर्वको प्राचीन नगर शङ्करापुर साँखुस्थित शालिनदीमा पूजा तथा स्नान गर्नेको एक महीनासम्म दैनिक घुइँचो लाग्छ । माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिइ पुण्य कमाइने धार्मिक विश्वास रहेको छ ।