जितका लागि नेपालद्वारा युएइसामु ११४ रनको झिनो लक्ष्य प्रस्तुत

0
691

पहिलो एकदिवसीय क्रिकेटमा नेपालले घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई)लाई जितका लागि ११४ रनको सामान्य लक्ष्य दिएको छ ।

दुबईस्थित आइसिसी क्रिकेट एकेडेमीको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ३३ ओभर ५ बलमा अलआउट हुँदै ११३ रनमा समेटियो ।

खराब ब्याटिङ प्रदर्शन गरेको नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन जोडे । यस्तै आरिफ शेखले २५ रन जोड्दा कप्तान पारस खड्काले २० र सन्दीप लामिछाने १५ रनमा आउट भए ।

अन्य नेपाली ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेन । नेपालका विनोद भण्डारीले पाँच, पवन सर्राफले चार, करण केसीले तीन रन जोडेर आउट भए । ललित नारायण राजवंशी दुई रनमा अबिजेत रहे । नेपालका ओपनर ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी र वसन्त रेग्मीले रनको खाता खोल्नु सकेनन् ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा युएइका मोहमद नाभिद र अमीर हायतले समान तीन÷तीन विकेट लिएका थिए । यस्तै इमरान हेदरले दुई विकेट लिए ।

नेपालले युएईसँग तीन खेलको एकदिवसीय र तीन खेलको टी–२० सिरिज खेल्नेछ । नेपालले दोस्रो एकदिवसीय शनिबार खेल्नेछ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट एकदिवसीय मान्यता पाएपछि नेपाल दोस्रो एकदिवसीय सिरिज खेल्न युएई पुगेको हो ।

एकदिवसीय मान्यता पाएपछि नेपालले युएईसँग दोस्रो सिरिज खेल्न लागेको हो । यसअघि नेदरल्याण्डसँग नेपालले पहिलो एक दिवसीय सिरिज खलेको थियो । जसमा पहिलो खेलमा पराजित भएको नेपालले दोस्रो खेलमा एक रनको जित हासिल गरेको थियो ।

नेपाल पारस खड्का तथा युएई मोहम्मद नाभिदको कप्तानीमा खेल्दैछन् । नियमित कप्तान रोहन मुस्ताफासहित तीन खेलाडी प्रतिबन्धमा रहेका कारण युएइको नेतृत्व फास्ट बलर नाभिदले गर्दैछन् । नेपालले युएईसँग तीन टि–२० सिरिज पनि खेल्नेछ ।