–कुमार चौलागाईं
नेपाली क्रिकेटले नेतृत्वविहीन तीन वर्षमा ऐतिहासिक फड्को मार्न सफल भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्वनमा परेको तीन वर्ष भइसक्यो । तर, यस बीचमा राष्ट्रिय टोलीले दुईवटा ऐतिहासिक सफलता मात्रै हात पारेको छैन, वर्षौदेखिको विश्व क्रिकेटमा एकछत्र राज गरेका भारतीय र पाकिस्तानी खेलाडीले राखेको विश्व रेकर्ड समेत नेपाली खेलाडीले तोड्न भ्याइसकेका छन् ।
साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर क्यान विवादले उग्ररुप लिएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले २०७३ वैशाखमा क्यानलाई निलम्वन गरेपछि नेपाली क्रिकेट अहिले नेतृत्वविहीन अवस्थामा छ ।
क्रिकेट सङ्घ निलम्वनकै अवस्थामा गत वर्षमात्र एक दिवसीय मान्यता पाएको नेपालले अहिले एक दिवसीय सिरज नै जितेर विश्व क्रिकेटको ध्यान आफूतिर तान्न सफल भएको छ ।
घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज जित्दै नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको हो ।
आइसिसीबाट एकदिवसीय मान्यता पाएपछि नेपालले यसअघि गत असारमा नेदरल्याण्डसँग डेब्यु एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो । जुन सिरिज १–१ को बराबरीमा सकिएको थियो ।
क्यानको विवाद तथा नेतृत्वविहनि अवस्थामा पनि नेपालले दुईवटा एतिहासिक उपलब्धि हासिल गर्नु गर्वको विषय भएको बताउनुहुन्छ, राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दास । क्यान विवाद समाधान पूर्वाधार विस्तारमा उहाँको जोड छ ।
“नेपालले एक दिवसीय मान्यता तथा एक दिवसीय सिरिज नै जितिसकेपछि अब नेपालमा पनि एक दिवसीय सिरिज खेल्नेसक्ने पूर्वाधारको आवश्यकता छ ।” कीर्तिपुरका एउटा मैदानले कहिलेसम्म नेपाली क्रिकेट धानिरहने उहाँको प्रतिप्रश्न थियो ।
“आजको आवश्यकता सक्षम नेतृत्वसहितको राजनीतिक हस्तक्षेपमुक्त स्वायत्त क्रिकेट बोर्डको हो । जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका सरोकार निकायसँग समन्वय गर्दै समग्र नेपाली क्रिकेटको विकासमा नेतृत्वदायी भूमिका खेलोस्”–क्यानका पूर्व अध्यक्ष विनयराज पाण्डे भन्नुहुन्छ ।
नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटाले घरेलु क्रिकेटको संरचना, भौतिक पूर्वाधार, खेलाडीहरुको हेरचाहलगायतमा ध्यान जानु जरुरी रहेको बताउनुभयो ।
क्रिकेटको विकास लागि सक्षम क्रिकेट बोर्ड र घरेलु संरचनालाई बलियो बनाउनुपर्ने उहाँको भनाइ छ ।
नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय यत्रा
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को सदस्यता पाएको झण्डै ३० वर्षपछि नेपालले गत वर्ष मात्र चार वर्षका लागि एकदिवसीय क्रिकेटको मान्यता पाएको थियो ।
सन् १९८८ मा आइसिसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एसोसिएट राष्ट्रको मान्यता पाएको थियो भने नामिवियामा अघिल्लो वर्ष सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै एक दिवसीय मान्यता पाएको हो ।
२०७३ वैशाखमा क्यान निलम्बन भएपछि अहिलेसम्म नेपाली खेलाडीले अभिभावकबिनै ठूला प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन् भने नेपाली क्रिकेटलको व्यवस्थापकी पक्ष सबै आइसिसीले नै हेर्दै आएको छ ।
निलम्वन फुकुवाको विवषयमा लामो समयदेखि पहल शुरु भए पति त्यसले सार्थकता पाउन सकेको छैन ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को निलम्बन फुकुवाका लागि मार्ग प्रशस्त गर्न बारम्वार आग्रह गरेपछि निलम्बित नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई विपक्षी बनाएर सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता लिन निवेदन दर्ता गराएको छ ।
“आइसिसीले निलम्वन फुकुवाका लागि राखेको शर्त हामीले पुरा गरिसकेका छौँ, फेब्रेवरीमा आइसिसीको बोर्ड बैठक बस्दैछ,सोही बैठकले निलम्वन फुकुवा गर्नेमा हामी विश्वस्त छौँ”–निलम्वित क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भन्नुभयो ।
वि सं. २०७२ मा राष्ट्रिय खेलकुद परिषदले निर्वाचित क्यानलाई मान्यता नदिई रमेश सिलवालको नेतृत्वमा तदर्थ समिति गठन गरेसँगै क्यानका पदाधिकारीले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । त्यसको चार महिनापछि २०७३ वैशाखमा क्रिकेटमा सरकारी हस्तक्षेप भएको भन्दै आइसीसीले नेपाली क्रिकेटलाई निलम्बन गरेको थियो ।
सीमित स्रोतसाधन बाबजुद नेपालमा क्रिकेट गतिविधि विस्तारै मौलाउने क्रममा २०४४ सालबाट शुरु भएको अन्तर्राष्ट्रिय सम्बन्धले देशभित्र यो खेल विस्तारमा थप योगदान ग¥यो । पहिलोपल्ट २०५२ सालमा मलेसियाको क्वालालम्पुरमा सम्पन्न एसिसी ट्रफीमा नेपालले अन्तर्राष्ट्रिय सहभागिता जनायो ।
२०५५ सालमा नेपालले पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाको अवसर पायो । त्यो वर्ष एसिसी ट्रफी आयोजना गर्दा नेपालले भौतिक पूर्वाधार निर्माणमा फड्को मार्यो । कीर्तिपुर र पुल्चोकको क्रिकेट मैदान त्यहीबेला बनाइएको हो । प्रतियोगितामा नेपाली टोलीले एउटै खेल जित्न नसके पनि दुई अन्तर्राष्ट्रियस्तरका मैदान बन्नु नेपाली क्रिकेटको ठूलो उपलब्धि थियो ।
सन् २००२ मा सिंगापुरमा सम्पन्न एसिसी ट्रफीमा नेपाल उपविजेता भयो । उपाधि युएइले जित्यो । लगत्तैको वर्ष इमर्जिङ नेसन्स कप आयोजना गर्दा भुटान र माल्दिभ्सलाई सहजै हराएको नेपालले उपाधिनै जित्यो ।
त्यसयता लगातार अन्तर्राष्ट्रिय प्रतियोगितामा मिश्रित सफलता हासिल गर्दै अघि बढेको नेपाली टोलीले २००८ मा विश्व क्रिकेट लिग डिभिजन फाइभ खेल्न जर्सीको भ्रमण ग¥यो । समूह एको शीर्ष टोली बनेर सेमिफाइनल पुगेको नेपाल अन्तिम चारमा अफगानिस्तानसँग पराजित भयो भने अमेरिकालाई प्लेअफमा हराउँदै तेस्रो स्थान हासिल गर्न सफल भयो ।
सन् २०१० को फेब्रुअरीमा काठमाडौंमा सम्पन्न डिभिजन फाइभ नेपालले जित्यो । अमेरिकालाई फाइनलमा हराएर जितेको त्यो नेपालको पहिलो उपाधि थियो । त्यही वर्ष भएको डिभिजन फोरमा नेपाल तेस्रो हुँदै रेलिगेसनबाट जोगियो । २०१२ मा डिभिजन फोर जितेर डिभिजन थ्रीमा उक्लिएको नेपाल २०१३ को मार्चमा सम्पन्न डिभिजन थ्री मा पनि विजेता बन्दै डिभिजन टु मा उक्लियो ।