हराउन लाग्याे मारुनी नाच

२० माघ २०७५, आईतवार

कुमाल समुदायको पुर्खौली संस्कृति मारुनी नाच समुदायबाटै लोप हुन थालेको छ। युवापुस्ताले संस्कृति संरक्षणमा ध्यान नदिँदा समुदायमा प्रख्यात मारुनी नाच लोपोन्मुख अवस्थामा पुगेको हो। रोजगारीको सिलसिलामा युवापुस्ता विदेशन पलायन हुँदा गाउँमा बसेर युवापुस्ताले संस्कृति सिक्ने अवसर पाएका छैनन्। अझै पनि फाट्टफुट्ट केही ठाउँमा पाकापुस्ताकै भरमा मारुनी नाच देखाउने गरिएको छ । पाल्पाको रामपुर नगरपालिका–३ भलायटारका मारुनी नाचका गुरु ७७ वर्षीय कुशलाल कुमाल संस्कृति धान्नकै लागि अझै पनि मारुनी नाच देखाउने कार्यमा सरिक हुन्छन्। ‘सँगै मारुनी गाउने नाच्ने साथी मरेर गए, अहिले म मात्रै एक्लैजस्तो भएको छु, तैपनि जसोतसो संस्कृतिलाई बचाउन लागिपरेको छु,’ उनले भने।

बाल्यकालदेखि नै बाउबाजेसँग मारुनी गाउँदै नाचेर हिँड्ने कुमाल अहिले आफैँले गुरु भएर सिकाउने गर्छन्। उनले सिक्ने व्यक्ति काेही तयार नहुँदा आफू मरेर गएपछि संस्कृति पनि हराउने हो कि भनेर चिन्तित छन्। पुरुषले महिलाका भेषभुषालगाएर मादल र गीतको तालमा दुई जना मारुनी र एक जना पुरुसिङ्गे भएर नाच्ने गरिन्छ । एक समूहमा १० देखि १५ जनासम्म कलाकार हुन्छन् । अभिनयसहित मारुनी नाच नाच्ने गरिन्छ।

पुरुसिङ्गेलाई मारुनीले र मारुनीलाई पुरुसिङ्गेलाई नाच्दा लखेट्ने गरेर यो नाच देखाइन्छ। माघे सङ्क्रान्ति, एकादशी, नयाँ वर्ष, विभिन्न मेला महोत्सव, तिहारे औँशीजस्ता चाडपर्वमा मारुनी नाच देखाउने गरिन्छ। युवा गाउँमा नबस्दा पनि संस्कृति सिकाउन नसकिएको मारुनी नाचका पुरुसिङ्गे कलाकार मीनबहादुर कुमालकाे भनाइ छ।

नेपाल कुमाल एकता समाज रामपुर समुदायबाटै लोप भएर जान लागेको मारुनी नाचलाई जोगाउँदै अहिले संरक्षण अभियानमा छ। रामपुर नगरपालिकाका विभिन्न वडामा कुमाल समुदायको बस्ती छ। धेरैलाई संस्कृतिबारे ज्ञान नै नहुँदा संस्कृति संरक्षणमा जुटेको नेपाल कुमाल एकता समाज रामपुरका अध्यक्ष पदमबहादुर कुमाल बताउछन्। मारुनी नाचका लागि आवश्यक पोशाक तथा वाद्यवादनका सामग्री खरीदमा स्थानीय तहले सहयोग गर्ने तथा मारुनी नाच जोगाउन लागिपरेको उनले बताए। “युवालाई समेटेर मारुनी नाच सिकाउने गरेका छौँ,” उनले भने। राजारानीको स्वरुपमा कृष्णचरित्रका रुपमा नाटकीय चरणमा यो नाच देखाइने गरिन्छ । रामपुर नगरपालिकामा करीब एक हजार छ सयको हाराहारीमा कुमाल समुदायको जनसङ्ख्या छ।

Leave a Reply