नेपाल बिद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन् । पार्टी मुख्यालयमा सभापति शेरबहादुर देउवालाई भेटेर उनले पदबाट राजीनामा दिएका हुन् । नेविसंघको कार्यकाल सकिएको लामो समयसम्म महाधिबेशन गराउन नसकेको आरोप महरमाथी लागेको थियो । पार्टीले पनि उचित निर्णय लिन नसकेको भन्दै महरले राजीनामा बुझाएका छन् ।
‘ म पार्टी निर्णयको पर्खाईमा थिएँ, तर पार्टीले लामो समयसम्म निर्णय लिन सकेन’, महरले भने ‘पदमा मात्र बस्ने कुरा उपयुक्त ठानिन् त्यही भएर राजीनामा दिने निर्णयमा पुगेको छु ।’
पार्टीले निर्णय नलिएका कारण आफुले राजीनामा दिएको महरले बताएपनि सोमबार बस्ने पार्टी केन्द्रीय समितिको बैठकले वर्तमान नेपाल बिद्यार्थी संघको कार्यसमितिलाई भंग गर्ने तयारी गरेको थियो । पार्टीले नेविसंघ भंग गर्ने निश्चित भएपछि उनले पदबाट राजीनामा दिएका छन् । पार्टी सभापति शेरबहादुर देउवा र उनीको समुहले अनौपचारिकरुपमा नेविसंघको वर्तमान कार्यसमिति भंग गर्ने निर्णय गरिसकेको छ ।
कांग्रेस केन्द्रीय समितिले नेविसंघ भंग गरेर तदर्थ समिति गठन गर्ने तयारी गरेको छ । तदर्थ समितिको अध्यक्षमा पुर्व उपाध्यक्ष ऋषिकेशजंश शाहलाई ल्याउने तयारी देउवा पक्षले गरेको छ । नेविसंघभित्र लोकप्रिय मानिने शाह अघिल्लो अधिबेशनदेखि नेविसंघबाट विदा भएका थिए । तर तदर्थ समितिको अध्यक्ष बनाउने तयारी देउवा पक्षले गरेको छ ।